कोहलपुर : प्रदेश सभा सदस्य सञ्जुकुमारी थारुले कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाउन माग गरेकी छन् । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशनमा बोल्दै प्रदेश सभा सदस्य थारुले महिला क्रिकेटको उत्पती र विस्तार भएको कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाउन माग गरिन् ।
‘प्रदेशभरीमा लुम्बिनी । लुम्बिनी प्रदेशभरीमा बाँके, बाँकेभरीमा कोहलपुर नगरपालिका । जहाँ महिला क्रिकेटको उत्पती भयो । महिला क्रिकेट एकेडेमी बनाउन माग गर्दछु ।’ उनले भनिन् ।

कोहलपुर नगरपालिकाको पूर्व उप–प्रमुखसमेत रहेकी थारुले महिला क्रिकेटलाई प्रोत्साहन, संरक्षण सवद्र्धन गर्नको लागि आउँदो आर्थिक वर्षदेखि नै मुख्यमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताइन् । उनी कोहलपुरको उप–प्रमुख हुँदा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको थियो । उक्त प्रतियोगिता अहिलेपनि सञ्चालन हुँदै आएको छ ।
यस्तै उनले नेपालको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि आवश्यक नीति आवश्यक रहेकोमा जोड दिएकी छन् । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने उद्देश्य लिएको भन्दै नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरेर विश्वविद्यालय बनाउन पहल थाल्न प्रदेश सरकासँग जोडदार माग गरेकी छन् । ‘नेपालगन्जमा सबैभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पस रहेको छ । जीर्ण अवस्थामा रहेको छ । लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयको अवधारणा ल्याएको छ । त्यसलाई स्तरोन्नती गरेर विश्वविद्यालय स्थापना गर्नुपर्छ ।’ उनले भनेकी थिइन् ।
आफ्नो निर्वाचन क्षेत्र नम्बर १ मा रहेका कोहलपुर,राप्ती सोनारी र नरैनापुर वर्षेनी बाढी र कटानका कारण लाखौ नागरिक विस्तापित हुनुपर्ने र खेतीयोग्य जमिन कटानको समस्या रहेकोले त्यसको समाधानको लागि बजेट विनियोजन गर्न माग गरिन् ।
यस्तै गर्मी मौषममा बाढी,पहिरो, हावाहुरी सर्पको टोकाइबाट मानिसको ज्यान जोखिममा रहेकोले रोकथाम र व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिइन् । अधिकांश कृषि योग्य जमिन भएको बाँकेमा कृषि मल विउ विजनको अभाव विद्यामान रहेको भन्दै अहिले नेपालगन्जमा साल्ट ट्रेनिङलाई कृषिको मलखात विउ विजनको केन्द्र बनाउनुपर्ने धारणा राखिन ।









प्रतिक्रिया दिनुहोस्