नेपालगन्ज, डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान सुरु गर्न लागेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गर्न लागिएको हो ।
पछिल्लो समय रगत अभाव हुन थालेपछि यस्तो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जनाए । ‘रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउँछ,’ उनले भने, ‘तर गाउँपालिकासँग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाइ भएपछि यो अभियान सुरु गर्न लागेको छुँ ।’ गाउँपालिकाले यही जेठ १७ गते बृहत् रक्तदान कार्यक्रममार्फत उक्त अभियान सुरु गर्न लागेको छ ।

गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका बिरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमितरुपमा बृहत् रक्तदान कार्यक्रम गरी रगत संकलन गर्ने रक्तदान कार्यक्रम संयोजक कौशलकुमार कैरातीले बताए ।
उनका अनुसार बृहत् रक्तदान कार्यक्रममा बढीभन्दा बढी मनिसहरुको रगत संकलनका लागि व्यापकरुपमा प्रचारप्रसार, माइकिङलगायतका कार्यक्रम भइरहेको छ । रक्तदान कार्यक्रममा युवा, युवती, महिला, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी स्थानीयलगायत सबैको सहभागिता गराइनेछ ।
‘रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौँ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔँ’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको छ । गाउँपालिका वडा नम्बर ३ बनकट्टीस्थित नयाँ प्रशासनिक भवनको प्रांगणमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जनचेतनाको अभावमा अझै पनि अधिकांश नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्