मिसन संवाददाता
कोहलपुर, ३ जेठ
कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको सञ्चालक समिति सर्वसम्वतीबाट चयन हुन नसकेपछि चुनाव हुने पक्का भएको छ । नेतृत्वसँगै अन्य पदमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियाका लागि निर्वाचन समितिसमेत निर्माण गरिएको हो ।
आठ वर्षपछि मंगलबार ८औं साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको संस्थाको सहमतीय नेतृत्व हुन सकेन । बन्दसत्रबाट पाँच सदस्यीय निर्वाचिन समिति बनाइएको अध्यक्ष नरबहादुर मल्लले बताए । नयाँ नेतृत्व चयन गर्ने प्रयोजनका लागि कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको उनले जनाए । खानेपानी संस्थाको विधानमा निर्वाचन प्रयोजनका लागि कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।
सोहीअनुसार ढकालको संयोजकत्वमा समिति गठन गरिएको अध्यक्ष मल्लको भनाइ छ ।
समितिको सदस्यमा अधिवक्ता जयकृष्ण न्यौपाने, पूर्व शिक्षक शारदाप्रसाद कोइराला, खानेपानी संस्थाका पूर्व सदस्य दुर्गा सुवेदी र नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषिराज शर्मा छन् । आज समितिका पदाधिकारीहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।
समितिले नियुक्तिपत्र प्राप्त गरिसकेपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । संस्थाको नेतृत्वका लागि दलीयरुपमा भाडबण्डा हुने गरेको छ । यसपटक पनि नयाँ नेतृत्वका लागि दलीय प्रतिस्पर्धा हुने सम्भावना छ ।
नेपाली कांग्रेसबाट अध्यक्ष बनेका नरबहादुर मल्ल यसपटक पनि अध्यक्षका आकांक्षी छन् । आफू अध्यक्षको आकांक्षी भएको उनले बताए । ‘म त आकांक्षी छुँ । पार्टीले कसलाई टिकट दिन्छ हेरौँ,’ उनले भने । यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्षका लागि शोभाकर जैसी आकांक्षी छन् ।
उनले अध्यक्षमा उम्मेदवारी दिने बुझिएको छ । यसअघि कांग्रेस, एमालेसहित नेकपा माओवादी केन्द्रले पदाधिकारी र सदस्यहरुमा दलीय भागबण्डा गरेका थिए । यसपटक नयाँ दल पनि थपिने सम्भावना छ ।









प्रतिक्रिया दिनुहोस्