नेपालगन्जमा बनेन शवदहन गृह



नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकाको लामो समयदेखिको योजना हो, शवदहन गृह निर्माण गर्ने । यसअघिका नीति तथा कार्यक्रममा पनि स्थान पाएको उक्त योजना चालु आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा पनि परेको छ । नीति तथा कार्यक्रममा शवदहन गृहसहित शववाहन र शव राख्ने फ्रिजरकोसमेत व्यवस्थापन गरिने उल्लेख छ । तर, बजेटमा भने फ्रिजरको लागि मात्रै रकम व्यवस्था गरियो ।

तीन लाख पचास हजार रुपैयाँ बजेट छुट्याइएको उक्त फ्रिजर खरिद गरेर नेपालगन्ज वडा नम्बर ४ को मस्जिदलाई हस्तान्तरण गरिएको उपमहानगरपालिकाको जिन्सी शाखाले जनाएको छ । तर, शवदहन गृह र शववाहनका लागि बजेटको व्यवस्था भएन ।

बजेट निर्माण गर्दा बजेट अभावको कारण देखाएर नराखिएको उपमहानगरालिकाका एक कर्मचारीले बताए । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल भने बजेटको समस्या प्रमुख नभएको बताउँछन् ।

शवदशन गृहका लागि मुख्य गरी सिधनियाँघाटमा जमिन नपाइएकोले समस्या भएको रिजालले बताए । उनले उपमहानगरपालिकाले जमिनको व्यवस्थाका लागि उच्चतम मिहिनत गरिरहेको बताए । ‘जमिनको व्यवस्था भएसँगै योजना अघि बढ्छ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार