कोहलपुर,
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बाँकेले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । बिहीबार कोहलपुरस्थित न्यूरोड चोकमा जनमोर्चाले एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

जनमोर्चाले एमसीसी सम्झौता देशको हितमा नरहेको र राष्ट्रघाती भएको भन्दै विरोध गर्दै आएको छ । उक्त विरोधसभामा बोल्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले नेपालको संसद्ले बहुमतले पारित गरेको एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । पछिल्लो समय नेपाल विदेशीहरुको गुलाम बन्दै गएको उनको आरोप छ । उनले अहिले नेपालको संसद् नै साम्राज्यवादीहरुले कब्जामा राखेको धारणा व्यक्त गरे ।
पछिल्लो समय नेपाल पूर्णरुपमा अमेरिकाको कब्जामा रहेको उनी आरोप लगाउँछन् । उक्त अवसरमा उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी ऐजेण्टका रुपमा स्थापित भएको जिकिर गरे । लामिछाने नेतृत्वको पार्टी पनि साम्राज्यवादी पार्टी भएको पाण्डेले बताए । ‘शासक दलहरु साम्राज्यवादविरुद्ध बोल्न सक्दैनन् । किन भने उनीहरुलाई किनिसकेको छ । उनीहरु पैसाको लोभमा परिसकेका छन् । यी सबै नेपाली जनतालाई ढाट्दैछन्,’ उनले भने ।
उक्त अवसरमा किसान महासंघका महासचिव तुल्सीराम सापकोटाले नेपालले आफ्नो स्वधिनता गुमाउँदै गएको बताए का । नेपालको सार्वभौमिकतामाथि हरेक दिन प्रहार भइरहेको उनी बताउँछन् । त्यसविरुद्ध सचेत नेपाली एकजुट हुनुपर्ने बेला भएको उनको भनाइ छ । यस्तै उक्त अवसरमा बोल्दै राष्ट्रिय जनमोर्चा बाँकेका भीमप्रसाद देवकोटाले देशमा भइरहेका गलत गतिविधिविरुद्ध आफ्नो पार्टी लागि परेको बताए । उक्त अवसरमा पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्