मधुर पौडेल,बाँसगढी,
बाँसगढी नगरपालिकाले अध्यापन अनुमतिपत्र नभएको भन्दै हटाएका शिक्षकहरुले नगर शिक्षा शाखामा तालाबन्दी गरेका छन् । नगर कार्यपालिकाको उक्त निर्णय अमानवीय भन्दै हटाइएका २३ जना शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।

नगर शिक्षा शाखामा विज्ञप्ति टाँसेर उनीहरुले तालाबन्दी गरेका छन् । चैत २१ गते बसेको नगर कार्यपालिकाको बैठकले अध्यापन अनुमतिपत्र नभएकाले सेवाबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णय वैशाख १ गतेदेखि लागु भएको छ । शिक्षकहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाँसगढी नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत कम्प्युटर शिक्षक र अध्ययन अनुमतिपत्र नभएका विज्ञान र गणित शिक्षकलाई २०८० वैशाख १ गतेदेखि हाजिर नगराउनु भनेको हुँदा हामीले बारम्बार पालिकालाई ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिएको हुँदा तालाबन्दी गर्न बाध्य भएका छौँ ।’

विज्ञप्तिमा नगरपालिकाले हटाएका २३ जना शिक्षकहरुको दस्तखत छ । नगरपालिकाले हटाएका शिक्षक मिमराज विकले आफूहरुलाई अप्रत्यासितरुपमा हटाइएको बताए । नगरपालिकाले आफूहरुलाई अन्याय गरेको उनको भनाइ छ । उक्त विषयमा बारम्बारभन्दा पनि आफूहरुको कुरा लागू नभएको उनले दुःखेसो गरे । ‘हामीले छलफलमा बसौं भनेका छौँ । भेट्न चाहेका छौँ । तर उहाँहरुको आजका मितिसम्म कुनै पनि किसिमको जवाफदेहिता देखिएको छैन,’ उनले भने ।
विद्यालय सञ्चालन भइरहेको अवस्थामा आफूहरु बाध्य भएर यस्तो कदम चाल्न बाध्य भएको विकको भनाइ छ । पहिलो चरणको आन्दोलनअन्तर्गत तालाबन्दी गरिएको र माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिनेसमेत उनले बताए । वैशाख १ गतेदेखि निर्णय लागू हुने गरी हटाइका मध्ये १४ जना कम्प्युटर शिक्षक छन् । उनीहरु सबै निमावि तहका शिक्षक हुन् । एकजना मावि तहका नगर अनुदानअन्तर्गत बाली विज्ञानका शिक्षक रहेका छन् ।
उनीहरुमध्ये सातजना विज्ञान÷गणित विषयमा शैक्षिक सुधारअन्तर्गत पाँचजना निमावि र दुईजना मावि तहका शिक्षक छन् । यस्तै निमावि तहका एकजना राहत शिक्षक छन् ।
यसअघि विभिन्न शिक्षक संघ संगठनले पनि विरोध जनाएका थिए । बाँसगढी नगरपालिकाले २०७६ सालमा ती शिक्षकहरु नियुक्ति गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्