आर्थिक मन्दीको मारमा नेपालगन्जका होटेल व्यवसायी



नेपालगन्ज ।

कारोबारमा मन्दी र बैंकको ऋणका कारण नेपालगन्जका व्यवसायी विस्थापित हुने सम्भावना छ । होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न समस्या भइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बताए । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोेतिर लगानी गर्ने वातावरणसमेत नभएको हुँदा व्यवसायी दिनप्रतिदिन मर्कामा पर्न थालेको उनले बताए । नेपालगन्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल छन् ।

त्यसमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् । नेपालगन्जका एक होटेल व्यवसायी विस्थापित भएको उनले बताए । ‘उहाँ नेपालगन्जको ठूलो होटेल व्यवसायीमध्येको एक हुनुहुन्थ्यो, कोभिडपछि बिस्तारै उहाँको व्यापार घट्दै गयो, होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन, आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुप¥यो,’ अध्यक्ष खड्काले भने ।

विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा ह्रास आएको बताए । ‘मैलै विगत २५ वर्षदेखि यही व्यवसाय गर्दै आएको छुँ, यो २५ वर्षमा जुन गिरावट अहिले भएको छ, त्यो योभन्दा पहिला कहिल्यै भएको थिएन, अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छुँ, मेरो आम्दानी दिनप्रतिदिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने,’ उनले भने ।

अध्यक्ष खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । साथै उनले आर्थिक मन्दी चलिरहेकै समयमा घरधनीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने पनि बताए । नेपालगन्जका मुख्य बजार क्षेत्रमा दिनप्रतिदिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुनदेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान मौज्दात छन् तर कारोबार ठप्प हुँदै गइरहेकाले आफूहरु मारमा परेको व्यापारी बताउँछन् ।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेन्ट बिक्री गर्न खोज्दा पनि किन्ने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटेल व्यवसायी रामु सेञ्चुरी भन्छन्, ‘दुई वर्षदेखि होटेल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन, अहिलेको समयमा पसल किन्ने ग्राहक भेट्टाउनु पनि गाह्रो छ ।’ यसै नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताए । कोभिड–१९ र त्यसपछि उब्जिएको आर्थिक संकटले नेपालगन्जको अर्थतन्त्र धराशायी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

‘लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन्, यो कुराले हामी व्यापारी निकै नै मर्कामा परेका छौँ, व्यापार घट्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापितसमेत भइसकेका छन्,’ उनले भने । संघका महासचिव चिरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत पुग्न नसकेको बताए ।

उनले व्यापारी मर्कामा पर्नाका कारण केवल बैंकको ब्याज तिर्न नसकेर मात्र नभइ सरकारले पूँजीगत खर्चलाई द्रुत गतिमा अघि बढाउन नसकेको बताए । नेपालगन्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको उनले बताए । रासस

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार