गणेश रावत । कोहलपुर (बाँके) ।
जिल्लामा सडक दुर्घटनाको संख्या बर्सेनि बढ्दो छ । बढ्दो सहरीकरणसँगै यातायातका साधन बढ्नु, सवारी चालकको लापरबाही, तीव्र गति, पुराना सवारी साधन र ट्राफिक नियमका विषयमा नागरिकसम्म जनचेतना नपुग्नुले पनि बाँकेमा सडक दुर्घटनाको ‘बायोग्राफ’ उकालोतर्फ छ ।
तर, बिडम्वना एउटा ट्राफिक प्रहरीले नौ किलोमिटरभन्दा बढीको दुरी हेर्नुपर्ने बाध्यता छ । यति मात्र होइन, एउटा ट्राफिक प्रहरीले करिब दुई हजारभन्दा बढी सवारी साधन चेकजाँच गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा बाँके ट्राफिक प्रहरीलाई सडक दुर्घटना न्यूनीकरण गर्न ठूलो चुनौती छ ।
स्रोत साधन अभावका बीच ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रहरी निरीक्षक तिलक सुनारले बताए । सोमबार ट्राफिक प्रहरी कार्यालयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले सवारी दुर्घटना न्यूनीकरण र मादक पदार्थ सेवन (मापसे) का विषयमा अन्तरक्रिया गरेका थिए । भर्खरै सरुवा भएर बाँके आएका उनले बढ्दो सवारी साधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतीपूर्ण रहेको बताए ।
‘बाँकेमा सवारी दुर्घटनाका हिसाबले नेपालगन्जको पुष्पलाल चोक, धम्बोजी, भेरी अस्पताल, मालपोत कार्यालय परिसरमा बढी समस्या र व्यवस्थापनमा समस्या छ,’ उनले भने, ‘अहिले विशेष गरेर मापसे मुख्य समस्याको रुपमा छ । चेकिङमा कडाइ गर्नुका साथै कारबाहीमा परेका सवारी चालकहरुको लाइसेन्स होल्ड गरी सचेतना कक्षा दिएर मात्र छोड्दै आएका छौं ।’
तीव्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारी सचालउने गरेका कारण दुर्घटना हुने गरेको उनी बताउँछन् । जनशक्ति अभाव र स्रोत साधन नहुँदा बाँकेको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई चुनौती छ । हाल जिल्ला प्रहरी कार्यालय बाँकेमा ६८ जना ट्राफिक प्रहरी कार्यरत छत् ।
‘बाँकेमा जम्मा ६ सय १० किलोमिटर कालोपत्रे र कच्ची सडक छ,’ उनी भन्छन्, ‘एकजनाले नौ किलोमिटर सडक हेर्नु पर्ने बाध्यता छ । अर्काेतिर त्यति एकजनाले करिब दुई हजारभन्दा बढी सवारी साधन चेकजाँच गर्नुपर्छ ।’ जसका कारण सडक दुर्घटना न्यूनीकरण गर्न बाँके ट्राफिक प्रहरी कार्यालयले कार्ययोजना बनाएर काम गर्ने ट्राफिक प्रहरी प्रमुख सुनारले जनाए ।
दुर्घटना न्यूनीकरण गर्न केही दिनमै सार्वजनिकस्थल र ठाउँठाउँमा जनचेतनामूलक होडिङबोर्ड र विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन उनको भनाइ छ । सडक दुर्घटना न्यूनीकरणमा एकल प्रयासले मात्र नहुँदै भन्दै उनले भने, ‘यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ ।’








प्रतिक्रिया दिनुहोस्