नेपालगन्ज, नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता रोकिएको छ । शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा त्यसअगावै अखिल छैठौँलगायत विभिन्न नौ वटा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए ।

उनीहरुले क्याम्पस प्रशासनले विद्यार्थीहरुको ‘डाटा लिक’ गरेकोले तालाबन्दी गरिएको जनाएका छन् । उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा डाटा लिक गर्नेहरुलाई कारबाही गरेर निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् । विज्ञप्तिमा अखिल छैठौँ, अखिल क्रान्तिकारी बहुमत, नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (पवन कार्की), अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी वैद्य, विद्यार्थी एकता मन्च र अनेरास्ववियु लगायतका संगठनहरु रहेका छन् ।
तालाबन्दी गरिएपछि उम्मेदवारी दर्ताका लागि क्याम्पसमा पुगेका विद्यार्थीहरु उम्मेदवारी दर्ता गर्न नपाएरै फर्किएका थिए । तालाबन्दी गर्नेबाहेकका विद्यार्थी संगठनका नेताहरु भने तालाबन्दी गर्ने संगठनहरुले हार्ने निश्चित भएपछि निर्वाचन नै हुन नदिने उदेश्यले तालाबन्दी गरिएको बताए । उनीहरुले अविलम्ब निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
क्याम्पसको निर्वाचन समितिका संयोजक ठण्डीराज जमरकट्टेलले तालाबन्दीका कारण उम्मेदवारी दर्ताको काम हुन नसकेको भन्दै क्याम्पस प्रशासनलाई जानकारी गराएको र अब क्याम्पस प्रशासनले समन्वय र छलफल गरी अगामी कार्यतालिकाबारे निर्णय गर्नुपर्ने बताए ।
उनले विद्यार्थी संगठनसँग क्याम्पस प्रशासनले छलफल गरिरहेको जानकारी पाएको पनि उल्लेख गरे । विवाद समाधान गरेर नयाँ कार्यतालिका बनेमा सोहीअनुसार निर्वाचनका कार्यक्रम अघि बढाउने जमरकट्टेलको भनाइ छ ।
तर विद्यार्थीहरुका अनुसार तालाबन्दी गर्ने संगठनहरु सहमतिमा आएर निर्वाचन हुन दिने मनस्थितिमा छैनन् । यसअघि २०७३ सालमा पनि महेन्द्रमा विद्यार्थी संगठनहरुको किचलोकै कारण स्ववियु निर्वाचन हुन सकेको थिएन ।









प्रतिक्रिया दिनुहोस्