बाँकेका पाँच पालिकामा औषधि खरिद



नेपालगन्ज, २३ माघ
बाँकेका पाँचवटा स्थानीय तहमा चालु आर्थिक वर्षका लागि औषधि खरिद भएको छ भने बाँकी तीनवटा स्थानीय तहमा खरिदको प्रक्रियामा रहेको बताइएको छ । जिल्लाका कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, नरैनापुर गाउँपालिकामा एक चरण औषधि खरिद भएको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा एक चरणको टेण्डर खुलाएर औषधि खरिदको प्रक्रियामा छ भने जानकी गाउँपालिकामा केही दिनमा टेण्डरको सम्झौता हुने जानकारी दिइएको छ । डुडुवा गाउँपालिकामा एकपटक भएको ठेक्का आह्वानमा कसैको पनि बोलपत्र नपरेपछि पुनः टेण्डर आह्वान भएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।

यस वर्ष सरकारले स्थानीय तहबाट मात्रै औषधि खरिद गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य कार्यालयमा औषधि खरिदका लागि बजेट छैन । जिल्लाका आठवटा स्थानीय तहमा गरी जिल्लामा चार करोड आठ लाख बढीको औषधि किन्न बजेट छुट्याइएको छ । सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकामा ६२ लाख ७० हजार र सबैभन्दा कम राप्तीसोनारी गाउँपालिकामा १४ लाख ६० हजार छ । राप्तीसोनारीमा सबै बजेटबाट औषधि खरिद भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।

यसैगरी खजुरा गाउँपालिकामा करिब २४ लाख रुपैयाँमध्ये पहिलो चरणमा करिब १२ लाख रुपैयाँको औषधि खरिद भएको जनाइएको छ भने बैजनाथ गाउँपालिकामा ३० लाख बजेटमध्ये १५ लाखको औषधि खरिद भएको छ । कोहलपुर नगरपालिकामा ४५ लाख औषधि खरिदका लागि छुट्याइएकोमा पहिलो चरणको टेण्डरमा १६ लाखमा टेण्डर परेर औषधि खरिद भएको छ । बचेको बजेटबाट पुनः टेण्डर आह्वान गरी औषधि खरिद गरिने जनस्वास्थ्य निरीक्षक अनिल सेन ठकुरीले जानकारी दिए ।

नरैनापुर गाउँपालिकामा ४० लाखको बजेटमध्ये १७ लाखको औषधि खरिद भएर आएको छ भने जानकी गाउँपालिकामा २५ लाख ७५ हजारकै टेण्डर आह्वान भएको र केही दिनमा बोलपत्र खोलिने स्वास्थ्य शाखाले जनाएको छ । डुडुवा गाउँपालिकामा बजेट नै ढिलो पारित भएका कारण खरिद प्रक्रिया ढिलो सुरु भएको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ६२ लाख ७० हजारको टेण्डर आह्वान भएकोमा न्यूनतम २१ लाख ७४ हजारको बोलपत्र परेको छ । बाँकी बजेटबाट अर्काे चरणमा टेण्डर आह्वान गरी औषधि खरिद गरिने स्वास्थ्य महाशाखाले जनाएको छ ।

सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म औषधिको अभाव भएको छैन । गत वर्षको स्टकबाट पनि माग धानिँदै आएको सम्बन्धित कर्मचारीहरु बताउँछन् । सरकारले देशभरिका सरकारी स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्कका साथै विभिन्न ९८ प्रकारका औषधिहरु निःशुल्क वितरण गर्ने गर्छ । आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा ९८ थरीका औषधिमध्ये केही औषधि पाइँदैनन् भने आधारभूत अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा भने सरकारले तोकेका सबै ९८ थरीका औषधि निःशुल्क पाइने गर्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार