वीरेन्द्र जैसी, नेपालगन्ज, २३ माघ
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा आर्थिक वर्ष २०७५÷७६ मा ४४ करोड ८९ लाख ७० हजार ६९ रुपैयाँ रजिष्ट्रेसन शुल्क उठेको थियो । उक्त शुल्क असुली घटेर २०७६÷७७ सालमा ३४ करोड एक लाख आठ हजार तीन सय ८५ रुपैयाँमा पुग्यो । सबैभन्दा खराब हालत २०७७÷७८ मा रह्यो । उक्त वर्ष रजिष्ट्रेसन शुल्क अघिल्लो वर्षभन्दा झन्डै चार भाग घटेर मात्र आठ करोड ३९ हजारमा सीमित भयो । गत आर्थिक वर्षमा यो शुल्क बढेर ७६ करोड ८५ लाख चार हजारमा चढेको छ । रजिष्ट्रेसन शुल्कले जग्गाको कारोबारलाई इंगित गर्ने गर्दछ । रजिष्ट्रेसन शुल्क असुलीको प्रगतिले देखाउँछ कोरोनाका कारण घरजग्गा कारोबार खुम्चिएकोमा गत वर्षबाट केही तंग्रिन थालेको छ ।

मालपोत कार्यालय बाँकेमा संकलित रजिष्ट्रेशन शुल्कको अवस्था
आर्थिक वर्ष संकलित रष्ट्रिेसशन शुल्क
२०७९÷०८० को पुस मसान्त १९,५२,०८,३०५
२०७८÷०८९ ७६,८५,०४,१५८
२०७७÷०७८ ८,००,३९,३१०
२०७६÷०७७ ३४,०१,०८,३८५
२०७५÷०७६ ४४,८९,७०,०५९
चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म अर्थात पुस मसान्तसम्म १९ करोड ५२ लाख आठ हजार रजिष्ट्रेसन शुल्क उठेको छ । यो गत वर्षको वार्षिक असुलीको तुलनमा निकै कम भए पनि मंसीरबाट फेरि जग्गाको कारोबार उकालो लागेको मालपोतको तथ्यांकले देखाउँछ । मंसीर महिनाअघि दुई करोड बढीमात्रै असुली भइरहेकोमा त्यसपछि पुनः रजिष्ट्रेसन शुल्क वृद्धि हुन थालेको मालपोतको लेखा शाखाले जनाएको छ ।
यस वर्ष सुरुका केही महिनामा कित्ताकाँट रोकिनुका साथै चुनावलगायतका कारणले जग्गा कारोबार प्रभावित भएको बताइएको छ । यसका साथै स्थानीय तहले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गर्ने बेलामा बैंकहरुले घरजग्गामा लगानी गर्न नमानेपछि पनि कारोबार कम भएको व्यवसायीहरु बताउँछन् । टक्सार रियल स्टेट तथा बाँके बर्दिया घरजग्गा व्यवसायी समितिका अध्यक्ष ईश्वर पोखरेल पनि कोरोनापछि ओरालो झरेको घरजग्गाको कारोबार फेरि उकालो लाग्न थालेको बताउँछन् । उनले अहिले पनि घरजग्गा कारोबार मन्दीबाट बाहिर आइनसकेको भए पनि उकालो लाग्ने क्रममा रहेको बताए । उनले टक्सारले विभिन्न प्याकेजहरु बनाएर मन्दीको अवस्थामा पनि राम्रो कारोबार गरेको उल्लेख गरे । पछिल्लो समय बैंक मर्जरपछि निश्चित कर्जाको निश्चित कोटा छुट्याउन थालेपछि कारोबार थप सुधार हुने अवस्थामा रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्