बर्दिया निकुञ्जमा खरखडाइ खुला



बाँके ।

बर्दिया राष्ट्रिय निकुञ्ज खरखडाइका लागि खुला भएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि निकुञ्जमा सोमबारदेखि खरखडाइ खुला भएको हो । दुई दिनका लागि निकुञ्जमा खरखडाइ खुला भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १६(क) मा भएको व्यवस्था र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णयअनुसार खरखडाइका लागि निकुञ्ज खुलेको थियो । निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि खरखडाइ खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । सोमबार बिहानदेखि खुलेको खरखडाइ आज साँझ ५ बजेसम्मका लागि मात्र खुलेको उनले बताए ।

‘निकुञ्ज क्षेत्रबाट खरखडाइ संकलन गरी निकासी गर्ने सुविधा दुई दिनका लागि दिएका हौं,’ भण्डारीले भने, ‘खरखडाइका लागि माघ ७ र ८ गते पुर्जी काटेर सोमबार र मंगलबारका लागि खुला गरेका छौं ।’ इच्छुक मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले खरखडाइ संकलन गरिरहेका छन् । खरखडाइ पुर्जी दस्तुर ५० र संरक्षण शुल्क ५० गरी एक सय रुपैयाँ लाग्नेछ ।

खरखडाइ संकलनको क्रममा निकुञ्जले तोकेको सर्तहरु पालना गर्नु पर्ने प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । ‘खरखडाइको क्रममा निकुञ्जले तोकेका सर्तहरु पालना गर्नुपर्छ,’ उनले भने, ‘वन्यजन्तुबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट निकुञ्ज प्रवेश गर्दा समूहमा हिँड्ने र सुरक्षाका उपाय अपनाउनुपर्छ ।’ सोमबारदेखि सुरु भएको खरखडाइमा १६ वर्षमुनिका बालबालिका, वृद्धावृद्ध र अशक्त व्यक्तिलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालयले जनाएको छ ।

खरखडाइ संकलन गर्न बिहान ७ बजे निकुञ्ज प्रवेश गर्ने र साँझ ५ बजेभित्र बाहिर निस्किसक्नुपर्ने नियम बनाइएको छ । त्यसैगरी तोकिएको नाकाबाट प्रवेश गर्ने र निस्कने व्यवस्था गरिएको छ ।

सुरक्षाको लागि निकुञ्जले नेपाली सेना र निकुञ्जका कर्मचारीहरुलाई समेत परिचालन गरिएको छ । ‘खरखडाइ संकलन गर्ने मानिसहरुको सुरक्षामा पनि ध्यान दिइएको छ । बाघलगायतका वन्यजन्तुले आक्रमण गर्नसक्ने भएकोले सेनालाई पहिलेभन्दा धेरै परिचालन गरिएको छ,’ भण्डारीले भने, ‘सकेसम्म हामीले मानिसहरुलाई समूहमा मात्र जान आग्रह गरेका छौं ।’ निकुञ्जको अनुमतिमा २५ हजार बढी सर्वसाधारणले शुल्क तिरेर खरखडाइका लागि प्रवेश अनुमति पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार