धेरै पछि भेट भएका साथी, घुम्न जाँदा बाटैमा मृत्यु



बाँके ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला नजिक भएको जिप दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । रत्न राजमार्गको छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बाप्र०१०२६च९२१३ नम्बरको जिप आइतबार बिहान साढे २ बजे झुप्रा खोला नजिक दुर्घटना भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–७ बस्ने दैलेख भैरवी गाउँपालिकाका २७ वर्षीय सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय वविन शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र विसीको मृत्यु भएको छ ।

सबैजनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै गाडीमा सवार भैरवीकै वीरेन्द्रबहादुर शाही घाइते भएका छन् । मृतकमध्ये सागरले वीरेन्द्रनगरमा रारा मेडिकल सप्लायर्स चलाउँदै आएका थिए भने बाँकी तीनजना सम्बन्धित पालिकाका स्वास्थ्य संयोजक हुन् ।

प्रहरीका अनुसार भगवतीमाई गाउँपालिकाका संयोजकसमेत रहेका वविनको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारका क्रममा बिहान ५ बजेतिर मृत्यु भएको थियो । डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य संयोजक दिपेन्द्रजंग शाहीको टाउको, शरीरको विभिन्न भागमा चोट लागेको थियो भने गुराँस गाउँपालिका स्वास्थ्य संयोजक विसीको पनि टाउको, शरीरको विभिन्न भागमा चोट देखिएको सुर्खेत प्रहरीले जनाएको छ ।

शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीको प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको थियो । उक्त गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरुलाई बोलाइएको थियो । सोही गोष्ठीमा सहभागी हुन् आएका थिए, उनीहरु । सागर भैरवीकै भए पनि वीरेन्द्रनगर बस्छन् र यतै स्वास्थ्य रारा मेडिकल सप्लायर्स चलाउँछन् । शनिबारको गोष्ठी सम्पन्न भएपछि स्वास्थ्यकर्मी नै भएको नाताले बेलुकीपख सागरसँग भेट भयो ।

लामो समयपश्चात् भेट भएको भन्दै सागरकै गाडीमा उनीहरु साँझपख भेरीगंगा नगरपालिका १ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै वीरेन्द्रनगरबाट निस्किएका थिए ।

राति अबेरसम्म खानपिन गरेर करिब १ बजेतिर पाँचैजना वीरेन्द्रनगरतर्फ फर्किँदै गर्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनीहरुले मदिरा सेवनसमेत गरेको प्रहरीको भनाइ छ । चारजना युवा स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्र शोकमा डुबेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै चारजनाको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ९ गते सोमबार