नेपालगन्ज ।
नेपालगन्जको कारकाँदो चोकस्थित हाइमास्ट लाइट बन्द भएको एक हप्ताभन्दा बढी भइसकेको छ ।
खानेपानी संस्थानले राप्ती खानेपानी आयोजनाको पाइप विस्तार गर्नेक्रममा तार काटिएर बन्द भएको भनिएको उक्त हाइमास्ट लाइट मर्मतमा विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले बेवास्ता गरेको वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्मा बताउँछन् ।
उनले दुई निकायले एक अर्कालाई दोष लगाएर बसेर मर्मतमा ढिलाइ भएको बताए । ‘एउटाले उस्ले काटेको हो भन्छ । अर्काेले उस्ले भन्छ । जसले काटेको भए पनि विद्युत्ले त बनाइदिनुपर्ने हो नि । पटकपटक आग्रह गर्दा पनि जोडिएन । सहायक सिडिओलाई पनि यसबारेमा भनियो । तर, अहिले जोडिएको छैन,’ वडाध्यक्ष बर्माले गुनासो गरे ।
बर्माले विद्युत् वितरण केन्द्रले लाइटको बत्ती नजोड्नुमा उपमहानगरपालिकाले बत्तीको महसुल नबुझाएको कारणतिर आशंका गए पनि उक्त कारण हो भनेर वितरण केन्द्रले नभनेको पनि बताए । विद्युत् वितरण केन्द्र नेपालगन्जका प्रमुख दिवाकर प्याकुरेल पनि बत्ती बन्द हुनुमा महसुल नतिर्नु कारण नरहेको बताउँछन् ।
उनले प्राविधिक समस्याका कारण बत्ती बन्द भएको र वडा कार्यालयले लिखितपत्रमार्फत जानकारी पनि नदिएकोले जोड्नमा ढिलाइ भएको बताए । ‘यद्धपि मैले समन्वय गरेर यथाशीघ्र लाइन जोड्न लागाउँछु,’ उनले मिसन टुडेसँग भने ।









प्रतिक्रिया दिनुहोस्