अनेप्रचिसंघ लुम्बिनी अध्यक्षमा डा. पाण्डे



बाँके ।

अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा. राजन पाण्डे चयन भएका छन् । नेपालगन्जमा भएको भेलाबाट भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन पाण्डे संघको अध्यक्षमा चयन भएका हुन् ।

प्रदेशस्तरीय प्रथम भेलाले डा. पाण्डेको नेतृत्वमा ११ सदस्यीय संघको लुम्बिनी प्रदेश तदर्थ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा डा. डिबी खत्री र डा. सुवास जिसी, महासचिवमा डा. देवेन्द्र आचार्य र सचिवमा डा. सुदर्शन थापा चयन भएका हुन् । त्यसैगरी सदस्यमा डा. सकुन्तलाकुमार गुप्ता, डा. अभिषेक यादव, डा. साजन थापा, डा. होमनाथ अधिकारी, डा. रवि वाग्ले र डा. मधुसूदन घिमिरे चयन भएको अखिल नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. श्याम विकले जानकारी दिए ।

‘पहिलोपटक नै लुम्बिनी प्रदेशमा डा.राजन पाण्डेको नेतृत्वमा संघको तदर्थ कमिटी गठन गरिएको छ,’ उनले मिसन टुडेसँग भने, ‘उपलब्ध चिकित्सकहरुको उपस्थितिमा प्रदेश कमिटी गठन गरिएको हो ।’ भेला प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष डा. कृष्णसागर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशका महासचिव आचार्यले अन्य चिकित्सकलाई समेत समेटेर लैजाने बताए । ‘चिकित्सक र स्वास्थ्यकर्मीका हकहितमा हामीले काम गर्नेछौं,’ उनले भने, ‘कोही छुट्नुभएको भए आगामी दिनमा एकताबद्ध गरेर हामी अगाडी बढ्नेछौं ।’ भेलालाई लुम्बिनी प्रदेशमन्त्री कृष्णा केसी (नमुना), नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक डम्बर बिक तुफान, भेरी अस्पतालका नर्सिङ प्रमुख (मेट्रोन) दुर्गा लक्ष्मी श्रेष्ठ र प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताललगायतले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार