कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा हिमपात



बाँके ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुमा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ । यसवर्ष पहिलोपटक कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको हो । हुम्लाको सिमकोटमा करिब पाँच इन्चजति हिउँ जमेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।

स्थानीयहरूले दैनिकी कामलाई थाती राखेर घरभित्र सुरक्षित भएर बसेको उनले बताइन् । केही व्यक्तिहरू भने हिउँमा रमाइरहेका छन् । हुम्ला सिमिकोट, नाम्खा, खार्पुनाथ, चंखेली गाउँपालिमा निरन्तर हिमपात भइरहेको छ । सिमकोटमा ६ इन्च, नाम्खा गाउँपालिकाको यारिलेकमा एक फिट हिउँ परेको छ भने खार्पुनाथ गाउँपालिको याङ्चुमा ६ इन्च हिउँ परेको बताइएको छ ।

यस्तै कर्णालीको डोल्पा, मुगु, जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बाजुरा र बझाङमा पनि हिमपात भइरहेको छ । मध्यमाघ हुनै लाग्दासमेत हिउँ नपरेपछि चिन्तित बनेका किसानहरू भने खुसी भएका छन् ।

हिमाली जिल्लाहरुमा समयमा हिमपात नभए कृषि बालीमा सुक्खा लाग्नुका साथै उब्जनीसमेत घट्ने गरेको छ । ‘पहिलेपहिले समयमा हिउँ पथ्र्याे । बर्खेबाली पनि राम्रो हुन्थ्यो । हिउँदे बाली उवा, जौ र गहुँ झनै राम्रो हुने भइहाल्यो,’ नाम्खा गाउँपालिका– ३ की ८५ वर्षीया छिरिङ कुन्डोल तामाङले भनिन् ।

हिउँ नपर्दा चौँरी र याक पाल्न गाह्रो हुने किसानहरू बताउँछन् । समयमा हिमपात नभए गर्मीका कारण रोग लागेर चौँरी र याकसमेत मर्छन् । ‘बर्खामा घाँस पनि राम्रो हुँदैन । समयमा हिउँ नपर्नु भनेको हिमालमा जीवन जिउनै कठिन हुँदै जानु हो,’ तामाङले दुःखेसो गरिन् ।

हिमपात सुरु भएसँगै हुम्लामा हवाई सेवासमेत अवरुद्ध भएको छ । सिमिकोट विमानस्थलमा बाक्लो हिउँ जमेका कारण सुर्खेत र नेपालगन्जबाट हुने हवाई उडान अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । विमानस्थलमा रहेका हेलिकोप्टरहरुमा समेत हिउँ जमेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार