कोहलपुर नगरपालिकामा व्यवस्थित बनाइँदै नेटवर्क तार



मिसन संवाददाता,कोहलपुर
केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाले नेटवर्क विस्तारका लागि तानिएका तार अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ । केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाले नेपाल विद्युत् प्राधिकरणलाई निश्चित शुल्क तिरेर विद्युत्कै पोलमार्फत लाइन विस्तार गरेका छन् । विद्युत् प्राधिरकणकै मापदण्डविपरीत अस्तव्यस्त तानिएका यस्ता तारले बजारको सौन्दर्य क्रुप बनेको र दुर्घटनाको जोखिमसमेत बढेपछि सेवा प्रदायक संघसंस्थाकै सहमतिमा आइतबारजदेखि त्यसलाई व्यवस्थित गराउने काम सुरु भएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।


‘विद्युत्का पोलबाट तानिएका यस्ता तार कतै लत्रिएको, कतै पोलमा अस्वभनीय गुजुल्टा परेको देखियो यसले बजारको सौन्दर्यलाई पनि क्रुप बनाएको महसुस भयो,’ नगर प्रहरी प्रमुख थापाले भने, ‘तलसम्म झुण्डिएका तारका कारण दुर्घटनाको जोखिमसमेत देखेपछि त्यस्लाई व्यवस्थित बनाउन सुरु गरिएको हो ।’ त्यसलाई व्यवस्थित गर्न सम्बन्धित केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाका प्राविधिकसहित नगर प्रहरीको टोली परिचालन गरिएको छ । कोहलपुर नगरपालिकाको चौराहबाट यो अभियान सुरु गरिएको जानकारी दिँदै थापाले व्यवस्थित नगरका लागि प्रयास जारी राखेको बताए ।

यो अभियानका क्रममा पोलमा झुण्डिएका प्रयोगविहीन पुराना तार सबै हटाइने छ । यस्तै विद्युत् प्राधिकरणको मापदण्डअनुसार विद्युत् प्राधिकरणको तल्लो तारभन्दा दुई फिटमुनि र डेढ फिटको बीचमा मात्रै उनीहरुले तार विस्तार गर्न पाउने छन् । त्यसो गर्दा तार लत्रिने, गाडी क्रस गर्दा चुडिने जोखिम टर्ने छ । हालको अवस्थामा सेवाप्रदायक संघसंस्थाले तारको ठूल्ठूला गुच्छा पोलमा गुजुल्टो पारेर छाड्ने गरेका छन् । अब उनीहरुले त्यस्लाई सानो बनाएर व्यवस्थित तरिकाले मात्रै राख्नु पर्नेछ । यस्तै कुन नेटवर्कको तार हो ? त्यसको पहिचानका लागि डिबी बक्स भएको पोलमा संस्थाको पहिचानसमेत उल्लेख गर्नु पर्नेछ । यस्तै सेवा प्रदायक संघसंस्थाले विस्तार गरेको तार नलत्रियोस् भन्नका लागि बीचबीचमा व्यान्डिङसमेत गर्नु पर्नेछ ।
सडक पेटी खाली गराउन थालियो

कोहलपुर नगरपालिकाभित्रका सडक पेटी खाली गराउन थालिएको छ । ट्रस्ट तानेर सडक पेटी कब्जा गर्ने, पसल तथा ठेला राख्ने गरेको पाइएपछि नगर प्रहरीले त्यसलाई हटाउन सुरु गरेको हो । मानिसहरुलाई हिँड्डुलमै समस्या पर्नेगरी सडक पेटीहरु कब्जा गरिएपछि नगर पालिकाले सात दिने सूचना जारी गरेर खाली गराउन अनुरोध गरेको थियो । सोहीअनुसार बसपार्क क्षेत्रबाट यो अभियान सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए

कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउने अभियानअन्तर्गत नगर प्रहरीले कब्जा गरिएका सडक पेटी पनि खाली गराउन थालेको हो । नगरपालिकाबाट खटिएका अमिनहरुले नगर क्षेत्रभित्रको सडक पेटीलाई मार्किङ गरिसकेका छन् । कतिपय व्यवसायीहरुले स्वःस्र्फतरुपमा पनि सडक पेटी खाली गरिसकेका छन् । यसअघि नगर क्षेत्रभित्रको फुटपाथ कब्जा गरी बसेका ठेलालाई नगर प्रहरीले हटाइसकेको छ । फुटपाथ खाली गराउने अभियानलाई अटेर गर्ने ५४ ठेला व्यवसायीलाई कारवाहीको दायरामा समेत ल्याउने काम भएको नगर प्रहरी प्रमुख थापाले बताए । उनले त्यसबाट १६ हजार राजस्व संकलन भएको पनि जनाए । यस्तै नगर प्रहरीले रत्नराजमार्गअन्तर्गत कोहलपुर चौराहदेखि सुर्खेतरोड सडकखण्डको वडा नम्बर २ सम्मको सार्वजनिक जग्गामा अतिक्रमण गरेर बसेका टहर तथा पसल पनि खाली गराएको छ । सडकको मापदण्डअनुसार राजमार्गको क्षेत्राधिकारभित्र थापेका करिब ६० वटा घुम्ति पसल, टहर तथा ठेला व्यवसायीहरुलाई हटाइएको हो । अब तत्काल चौराहदेखि नेपालगन्ज सडकखण्डअन्तर्गत पार्वतीपुरसम्मको सडक अतिक्रमणसमेत हटाउने तयारी सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर १२ गते सोमबार