कांग्रेसबाट बाँकेका ११ जना प्रदेश र संघको समानुपातिकको बन्दसूचीमा



बाँके ।

नेपाली कांग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा बाँकेका ११ जना परेका छन् । लुम्बिनी प्रदेशमा आठ र प्रतिनिधिमा तीनजना गरेर बाँकेका ११ जनाको नाम परेको हो । प्रतिनिधिसभातर्फको बन्द सूचीमा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, संविधानसभा सदस्य आशा विक र महासमिति सदस्य डा.सुरेशकुमार कनोडिया अटाएका हुन् ।

कोइराला खसआर्य महिलातर्फ, विक दलित महिला र कनोडिया मधेसी पुरुषतर्फ बन्द सूचीमा परेका हुन् । कोइराला कांग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाकी भाइबुहारी हुन् । क्षेत्रीय कार्य समितिले उनको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस गरेको थियो । तर, पार्टीले उनलाई समानुपातिकको सूचीमा राखेको छ ।

२०६४ सालमा पहिलो संविधानसभा सदस्य रहेकी विकको नाम क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा नेपालगन्जको मेयरका उम्मेदवार रहेका कनोडिया समानुपातिकमै सिफारिस भएका थिए ।

बन्द सूचीमा परेका कोइराला बरिष्ठ नेता डा.शेखर कोइराला पक्षकी हुन् भने विक र कनोडिया सभापति शेरबहादुर देउवा पक्षका हुन् । यस्तै नेपाली कांग्रेसले निर्वाचनमा आयोगमा बुझाएको लुम्बिनी प्रदेशसभा सदस्यतर्फको समानुपातिकको बन्द सूचीमा बाँकेका आठजना परेका
छन् ।

महासमिति सदस्य माया पुन, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे, बाँके जिल्ला सचिव एवम् कोहलपुर नगरपालिकाकी निवर्तमान उपमेयर सञ्जुकुमारी थारु, महाधिवेशन प्रतिनिधि संगीताकुमारी थारु, जिल्ला सहसचिव विनोदकुमार थारु, महाधिवेशन प्रतिनिधि मीनाकुमारी बोहरा सिद्धीकी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ र जिल्ला सदस्य सुशीला बादी नेपाली बन्द सूचीमा अटाएका हुन् । लुम्बिनी प्रदेशबाट समानुपातिकतर्फ ३५ जना निर्वाचित हुन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार