कृष्ण ओली । बाँके ।
स्थानीय तह चुनावको खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले बाँकेका आठवटै पालिका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षलाई जरिवाना तोकेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै चुनावको खर्च समयमै नबुझाउने उम्मेदवारलाई जरिवाना तोकेको हो ।
समयमै चुनाव खर्च नबुझाउनेको सूचीमा बाँकेका सबै पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले समयमै निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गरिएको बताइन् ।
‘आयोगले मंगलबार चुनाव खर्चको विवरण समयमै नबुझाएका सबै उम्मेदवारलाई जरिवाना तोकेको सूचना निकालेको छ,’ उनले भनिन्, ‘त्यसमा निर्वाचनमा भाग लिएर समयमै खर्च विवरण नबुझाउने बाँकेका उम्मेदवारसमेत पर्नुभएको छ ।’
सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई आयोगले जरिवाना तोकेको छ । उपमहानगरका खर्च विवरण नबुझाएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही पाँच लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
जरिवाना पर्नेमा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन राईसमेत छन् । आयोगले कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही चार लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । आयोगले जारी गरेको सूचनामा नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीलाई जनही चार लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको उल्लेख छ । खर्च नबुझाएका प्रमुख र उपप्रमुख पदमा उठेर पराजित उम्मेदवारलाई समेत सोही रकम जरिवाना गरिएको छ ।
जिल्लाका ६ वटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई समेत जनही तीन लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । खर्च विवरण नबुझाएको भन्दै बैजनाथका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, खजुराका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, राप्तीसोनारीका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुलाई जरिवाना गरिएको हो ।
त्यसैगरी जानकीका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, डुडुवाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, नरैनापुरका अध्यक्ष मोहम्मद ईश्तियाक अहमद शाह र उपाध्यक्ष जयान्तिदेवी श्रीवास्तवालाई जनही तीन लाख ५० हजार रुपैयाँ जरिवाना छ ।
६ वटै गाउँपालिकाका खर्च विवरण नबुझाएका पराजित अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई समेत जनही तीन लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको आयोग बाँकेकी प्रमुख पन्तले बताइन् । पालिकाका प्रमुख र उपप्रमुख मात्र नभएर जिल्लाका विजयी अधिकांश वडाध्यक्ष, वडा सदस्य तथा पराजित वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारलाई समेत जरिवाना गरिएको छ ।
खर्च विवरण नबुझाउने नेपालगन्ज उपमहानगरपालिका वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारलाई जनही दुई लाख ५० हजार, कोहलपुर नगरपालिका उम्मेदवारलाई दुई लाख र अन्य ६ वटा गाउँपालिकाका उम्मेदवारलाई जनही एक लाख ५० हजार जरिवाना गरिएको छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारहरुले समयमै खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
कानुनअनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले ३० दिनभित्र पेस गर्नुपर्छ । तर, स्थानीय तह निर्वाचन ऐन, २०७३ को उल्लंघन गर्दै खर्च विवरण नबुझाएका उम्मेदवारलाई आयोगले जरिवाना तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ ले अटेर गर्ने उम्मेदवारलाई जरिवानादेखि ६ वर्षसम्म उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले तोकेको जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नदिने चेतावनी पनि दिएको छ ।









प्रतिक्रिया दिनुहोस्