बाँके ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बर्दियाका करिब सात समय घर डुवानमा परेका छन् । वर्षा पानीको निकास नहुँदा करिब सात समय घरहरु डुवानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । राजापुर नगरपालिकामा ६ सय ४५ र ठाकुरबाबा नगरपालिका–७ का ३० घरमा पानी पसेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
‘कर्णाली नदीमा बाढीको बहाब बढी हुँदा राजापुरमा कटान गर्न खोजेको थियो,’ उनले भने, ‘समयमै तटबन्धलाई मर्मत गर्दा बाढी पस्न पाएन । आकाशबाट परेको पानी भने केही घरमा पसेको खबर आएको छ ।’ घरमा पानी पसेका राजापुरका ६ सय ४९ र ठाकुरबाबाका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
उनीहरुलाई सुरक्षाकर्मीहरुले उद्दार गरेर सामुदायिक भवन, विद्यालय तथा सेल्टरहरुमा राखिएको छ । उनीहरुलाई बस्न र खानको लागि स्थानीय पालिका र रेडक्रसले गरिरहेको उनले जानकारी दिए । ‘गहिरो स्थानमा रहेका घरहरुमा पानी पस्दा त्यहाँका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राखिएको छ,’ उनले भने, ‘त्यहाँ स्थानीय पालिका र रेडक्रसले खानाको व्यवस्था मिलाएका छन् ।’
पानीले घरहरु डुवानमा परेको खबर आए पनि क्षतिको विवरण भने नआएको उनले बताए । ‘मानवीय क्षति भएको छैन,’ उनले भने, ‘घरमा पानी पसे पनि भौतिक क्षतिको विवरण भने आइसकेको छैन ।’ शनिबार राति थप पानी नपरे घरबाट विस्थापित भएकाहरु पानीको सतह घटेपछि आइतबार साँझसम्म घर फर्किनसक्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
शनिबार कर्णाली र बबई नदीमा आएको बाढीले सर्तकताको बिन्दु पार गरेको थियो । जिल्लाका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरेको छ ।









प्रतिक्रिया दिनुहोस्