शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको एक सय दिन अवधिमा भएका मुख्यमुख्य उपलब्धिको २८ नम्बर बुँदामा भनिएको छ, ‘नेपालगन्ज–कोहलपुर सडक क्षेत्रको कोहलपुर चौराहदेखि हवल्दारपुरसम्म सडकबत्ती मर्मत-जडान गरी भदौ मसान्तभित्र सञ्चालन हुने तयारीमा छ ।’ अर्थात् यो योजना अहिले नै सम्पन्न भइसकेको छैन । उक्त काम प्रभावित नभए सम्पन्न हुन अझै हप्ता दिन लाग्ने निश्चित छ । तर, योजना सम्पन्न नहुँदै जनप्रतिनिधिको उपलब्धिमा उक्त योजना उल्लेख गरिएको छ ।
यति मात्र होइन, नगरले कार्यक्रम सम्पादनमा फोकल व्यक्ति राखेको विषयलाई पनि उपलब्धिका रुपमा राखेको छ । ‘आर्थिक वर्ष २०७९-८० का लागि कार्यक्रम कार्यान्वयन पुस्तिका तर्जुमा गरी सम्पूर्ण कार्यक्रम सम्पादन गर्ने फोकल व्यक्ति तोकिएको,’ उपलब्धिमा उल्लेख छ । यति मात्र होइन वृक्षारोपण गरिएको विषय गर्वका साथ उपलब्धिमा समावेश गरिएको छ । यतिसम्मकी सानासाना विषयलाई उपलब्धिमा उल्लेख गरिएको छ । जब की परम्परागत ढंगले क्रमागतरुपमा हुँदै आएका कामलाई नगरले आफ्नो उपलब्धि मानेको छ । यसले नागरिकमा उत्साह प्रदान गर्न सकेको छैन ।
कोहलपुर नगरपालिकाले बिहीबार एक सय दिनमा ३२ वटा उपलब्धि हासिल गरेको जनाएको छ । उपलब्धिपत्र सामाजिक सञ्जालमा नगरले सार्वजनिकसमेत गरेको छ । नगरपालिकाका जनप्रतिनिधिले एक सय दिनमा सम्पादन गरेका कामलाई सार्वजनिक गर्दै सम्पन्न नै नभएका र कार्यान्वयनको चरणमा रहेका कामलाई मुख्य उपलब्धिको रुपमा सार्वजनिक गर्नु दुःखद् भएको बताइएको छ ।
नगरपालिकाले नगर क्षेत्रका विपन्न जेहेन्दार विद्यार्थीका लागि नगर प्रमुख छात्रवृत्ति कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा रहेको, सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन स्वयम्सेवक शिक्षकको कार्यक्रम स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको विषयलाई मुख्य उपलब्धिको तेस्रो बुँदामा राखेको छ ।
यस्तै सम्पूर्ण संगठन एवम् प्रशासन सुधारका लागि सुझाव दिन कार्यदल गठन गरी कार्य सम्पन्न भइ प्रतिवेदन गरी भदौ मसान्तसम्म प्रतिवेदन प्राप्त हुनेगरी कार्य अघि बढाइएको र नगरपालिकाको श्वेत्तपत्र निर्माणको काम सुरु भएको विषय उपलब्धिको १४ र १५ नम्बर बुँदामा उल्लेख गरिएको छ । यस्तै नेपालगन्ज–कोहलपुर सडक क्षेत्रको कोहलपुर चौराहदेखि हवल्दारपुरसम्म सडक बत्ती मर्मत-जडान गरी भदौ समान्तभित्र सञ्चालन हुने तयारीमा रहेको कुरा उपलब्धि नम्बर २७ मा उल्लेख छ ।
यसैगरी उपलब्धिको ३० नम्बर बुँदामा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि नगर प्रमुखद्वारा अनुगमन कार्यको थालनी भएको र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र भौतिक सुधार कार्य अगाडि बढाइएको जनाइएको छ ।
डिजिटल कोहलपुर निर्माणका लागि डीपीआर कार्य सुरु भएको र कोहलपुर नगरपालिकाको प्रशासनिक भवनको ठेक्का सम्झौता निर्माण भइ काम सुरु भएको कुरासमेत नगरपालिकाका मुख्य उपलब्धि हुन् । अन्य महŒवपूर्ण उपलब्धिमा नगरपालिकाले गर्ने सम्पूर्ण कार्य पारदर्शी एवम् सहभागितामूलक तवरले गर्ने गरिएको र विभिन्न माध्यमबाट सार्वजनिक गर्ने गरिएको छ । निःशुल्क दमकल सेवा सुरु भएको छ ।
आर्थिक मितव्ययीता एवम् पारदर्शीताका लागि कोटेसन खरिद प्रणाली निरुत्साहित गरिएको नगरपालिकाको मुख्य उपलब्धिमा समावेश गरिएको छ । सरकारी एवम् सार्वजनिक जग्गा संरक्षणका लागि कुनै पनि व्यक्ति संस्था निकायलाई जग्गा उपलब्ध नगराउने नीति अवलम्बन गरिएको, नगरपालिकाको बजेट, योजना तथा कार्यक्रम निर्धारित अवधिमै तर्जुमा गरी स्वीकृत भएको एक महिनाभित्रै पुस्तिका प्रकाशन गरी वेबसाइटमा समेत राखिएको कुरासमेत उलपब्धिका रुपमा उल्लेख गरिएको छ ।
अन्य उपलब्धिका रुपमा स्थानीय पाठ्यक्रम लागू गरिएको, फोहोरमैला बिसर्जनका लागि ल्याण्डफिल साइटको प्रबन्ध गरिएको, प्रशासकीय कार्यविधि निर्माणदेखि जथाभावी इन्धनको प्रयोग तथा वितरण बन्द गरी नो कुपन प्रणाली लागु गरिएको छ । सय दिनमा दुईवटा सार्वजनिक सुनुवाइ गरिएको, कोहलपुर नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना भएको, नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरिएको छ । यो अवधिमा कोहलपुर नगर खेलकुद विकास समिति गठन गरी पूर्णता दिइएको छ ।
नीतिगत रुपमा कामलाई अगाडि बढ्नुको साटो मेयरले सामान्य कामलाई उपलब्धिमा देखाएका छन् । नागरिकको जनजीवन बदलिने र सहज र सरल ढंगले सेवा सुविधा प्राप्त गर्न नागरिकको अपेक्षा थियो । यसोतः उनले चुनावमा गरेको प्रतिबद्धताअनुसार काम गरेको देखिँदैन । सय दिन उनको पहिलो जग भए पनि जग नै खल्बलिने गरी मेयर अगाडि बढेको आरोप लाग्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्