भेरी अस्पतालमा अब निःशुल्क रगत पाइने



नेपालगन्ज ।

भेरी अस्पताल नेपालगन्जमा अब बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध हुने भएको छ । प्रदेश सरकारले अस्पतालमा उपचारमा आउने बिरामीहरुका लागि रगत निःशुल्क उपलब्ध गराउन निर्देशन दिएपछि अस्पतालले आइतबारबाट रगत सेवा निःशुल्क गरेको हो । यसअघि बिरामीहरुले रगत आफैले दिएपनि रक्तसञ्चार केन्द्रमा रगत परिक्षण वापत एक हजार शुल्क तिर्दै आएका थिए ।

तर निजी क्लिनिक तथा अस्पतालमा उपचाररत बिरामीहरुलाई भने रगत निःशुल्क हुन छैन । भेरीमा उपचाररत बिरामीलाई मात्र रगत निःशुल्क दिन थालेपछि अस्पतालमा आउने बिरामीकोे संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि अस्पतालले रगत निःशुल्क गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईले बिरामीका आफन्तलाई निःशुल्क रुपमा रगतको प्याकेट हस्तान्तरण गरी सेवा सुरु गरेका थिए ।

रगत निःशुल्क उपलब्ध गराउनका लागि भेरी अस्पतालले रेडक्रसद्वारा क्षेत्रीय रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको छ । रेडक्रसको ६० औं स्थापना दिवस पारेर आइतबार आयोजित औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी बीच यसअघि भएको निर्णय आदानप्रदान गरेर सेवा सुरु भएको घोषणा गरिएको हो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालबाट विपन्न तथा असहायको निःशुल्क उपचार गर्दै आएको उल्लेख गर्दै निःशुल्क रगतले उक्त वर्ग लाभान्वित हुने बताए ।

प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अनुसार भेरी अस्पतालमा सेवा सुरु गरिएको हो । खजुरा क्यान्सर अस्पतालका विरामीलाई पनि रगत निःशुल्क उपलब्ध गराउन सरकारले पत्राचार गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार