सुर्खेत ।
सुरक्षितरूपमा घरमै सुत्केरी भएकी रुकुम पश्चिमकी २० वर्षीय सुशीला बीसीले साउनको दोस्रो साता ज्यान गुमाइन् । घरमै छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण अकालमै ज्यान गयो । श्रीमान् अर्की श्रीमतीसँग भारत भागेपछि उनी घर परिवारसँग बस्दै आएकी थिइन । घरबाट आधा घण्टा पैदल दूरीमा रहेको प्रसूति गृहमा नगएर उनी घरमै सुत्केरी भएकी थिइन् ।
परिवारको लापर्बाहीले गर्दा सुशीलाको ज्यान गएको माइती पक्षको गुनासो छ । त्यस्तै गत असारमा घरमै सुत्केरी हुँदा जाजरकोट कुशेकी नारायणकली रोकायको पनि मृत्यु भयो । स्वास्थ्य संस्थामा नगएर घरमै चौथो सन्तानलाई जन्म दिएकी उनको समयमै साल नझर्दा मृत्यु भएको उनका एक छिमेकीले बताए ।
गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्दारको सुविधादेखि गाउँ–गाउँमा बर्थिङ्ग सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ । यस्ता सुविधाहरू हुँदाहुँदै पनि पछिल्लो चार वर्षमा कर्णाली प्रदेशमा सुशीला र नारायणकलीजस्ता ६७ जना सुत्केरी तथा गर्भवती महिलाले ज्यान गुमाएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १३ जना, २०७६/७७ मा २१ जना, २०७७/७८ मा २० जना र २०७८/७९ मा १३ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ । ढिलो स्वास्थ्य संस्थामा पुग्नु, नियमित गर्भ जाँच नगर्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु तथा पूर्व तयारीको अभाव मृत्युका कारण बनेका जानकारहरू बताउँछन् ।
धेरैजसो गर्भवती तथा सुत्केरी महिलाको मृत्यु घरमा, स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा र अस्पतालमा भएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए । गाउँका बर्थिङ्ग सेन्टरमा प्रसूति गराउने तालिम प्राप्त दक्ष जनशक्तिको अभावका साथै गर्भवती तथा सुत्केरी भइसकेपछि हुने हेलचेक्रयाइँले गर्दा पनि ज्यान गएको उनको भनाइ छ ।
गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने चेतना नहुँदा गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । सरकारी सेवा सुविधा सम्बन्धी जानकारीको अभाव, घरपरिवारको लापरबाही, घरमै सुत्केरी हुने चलन, हेलचेक्रयाइँ र छोराको आशमा धेरै सन्तान जन्माउन खोज्दा गर्भवती तथा सुत्केरीको मृत्यु हुने गरेको छ ।
यस्तै पायक पर्ने ठाउँमा प्रसूति गृह नहुँदा घण्टौँ हिँड्नुपर्ने बाध्यता, कमजोर आर्थिक अवस्था, उमेरै नपुगी विवाह गर्ने चलन, चाहिएको बेला गाडी÷एम्बुलेन्स नपाउँदा पनि गर्भवती तथा सुत्केरी महिलालाई जोगाउन गाह्रो परेको यहाँका सरोकारवालाहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्