कोहलपुर बसपार्कका टहरा हटाउन अवरोध



कोहलपुर ।

कोहलपुर नगर विकास समितिले सार्वजनिक जग्गामा अवैध ढंगले निर्माण गरिएका संरचना हटाउने काममा अवरोध सिर्जना भएको छ । नगर विकास समितिले आइतबार बिहान न्यूरोडबाट टहरा हटाउन सुरु गरेको थियो । बसपार्कमा निर्माण गरिएका संरचना हटाउन खोज्दा यहाँका व्यवसायीले अवरोध सिर्जना गरेका हुन् ।

विकल्पबिना नगर विकास समितिले संरचना हटाउन लागेको भन्दै उनीहरुले अवरोध सिर्जना गरेका थिए । जबरजस्ती टहरा हटाउन खोज्दा यहाँ तनावसमेत भएको थियो ।

यहाँका व्यापारी आक्रामक तरिकाले आएपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता लत्याउँदै बैध संरचनालाई ‘अवैध करार’ गर्दै डोजर लगाएर भत्काएको आरोप लागेको छ । कोहलपुर–११ स्थित आफैँले सञ्चालन गरिरहेको सार्वजनिक शौचालयको संरचनामा नगर विकास समितिले डोजर लगाएर भत्काएको हो ।

न्यूरोडस्थित सार्वजनिक शौचालय, शौचालयले चर्चेको जग्गा र शौचालयसँग जोडिएको सटर नगर विकास समितिले कोहलपुर–९ का नब्बी हजामसँग मासिक २९ हजार दुई सय २८ पैसा भाडा लिने गरी सम्झौता गरेको थियो । उक्त सम्झौता २०८० असार मसान्तसम्म रहने सम्झौतामा उल्लेख छ । अहिले उक्त क्षेत्रका संरचनामा अवैध भन्दै खाली गराइएको छ ।

नगर विकास समिति र हजामबीच उक्त सम्झौता नवीकरण भएको ३५ दिन पनि पुगेको छैन । दुई पक्षबीच यही साउन ८ गते सम्झौता भएको थियो । उक्त निर्णय ९ गतेबाट लागु भएको छ । नगर विकास समितिका सदस्य सचिव टीकाराम ढकाल र दोस्रो पक्षका हजामबीच भएको सम्झौताको समाप्त हुने अवधि २०८० मसान्तसम्म हो ।

उक्त सम्झौताको छैठौँ बुँदामा दुवै पक्षको मञ्जुरीमा सम्झौता नवीकरण गर्न सकिने उल्लेख छ । ७ नम्बर बुँदा कुनै कारणवस सो शौचालय र सटर अन्य कुनै प्रयोजनका लागि खाली गर्नुपर्ने अवस्था आएमा प्रथम पक्षले दोस्रो पक्षलाई लिखित जानकारी गराइ खाली गर्नुपर्ने भनिएको छ । सम्झौताको बुँदा नम्बर १० मा उल्लेखित शर्तहरुबाहेक थपघट दुवै पक्षबीचको समझदारीमा गर्न सकिने उल्लेख छ । साथै अन्य कुराहरुको हकमा प्रचलित कानुनअनुसार हुने आफ्नै निर्णयको बर्खिलापमा नगर विकास, त्यहाँ रहेका संरचना जबरजस्ती भत्काइएको छ । पीडित पक्षको दाबीअनुसार नगर विकास समितिले संरचना भत्काउन कुनै पूर्वजानकारी दिएको थिएन ।

सोमबार बिहान भत्काइएको कोहलपुर मिष्ठान भण्डारको संरचना नगर विकास समिति र हजामबीच भएकै सम्झौताअनुसार सञ्चालन गरिरहेको व्यवसाय हो । यहाँ पाँच वर्षदेखि व्यवसाय सञ्चालन हुँदै आएको छ । मिष्ठान भण्डारका सञ्चालक साहिद सिद्धिकीका अनुसार बिहान एक्कासी आफ्नो व्यवसाय सञ्चालन गरिरहेको संरचनामा डोजर चलाइएको हो । आफ्नो संरचनामाथि डोजर चल्नुपूर्व कुनै पनि पूर्वजानकारी दिएन । उनी भन्छन्, ‘हामीलाई कुनै जानकारी थिएन । हामी सम्झौताबमोजिम ढुंक्कले काम गरिरहेका थियौँ । तर, बिहान आउनुभयो, सम्झौताविपरीत मेरो संरचनामा क्षति पु¥याउनुभयो । योमाथि भएको अन्याय हो ।’ उनले उक्त संरचना प्रयोग गरेबापत नियमित भाडा तिर्दै आएका थिए । त्यहाँ एउटा हेयर कटिङ सेन्टरसमेत सञ्चालनमा छ ।

सोमबार बिहानै नगर विकास समितिले ‘कोहलपुर हाम्रो खाजा घर’को लाखौँ मूल्यको संरचना भत्काइएको छ । उक्त संरचना भने अवैध थियो । लामो समयदेखि सञ्चालन हुँदै आएको उक्त घरले नगर विकास समितिसँग सम्झौता गरेको थिएन, भाडासमेत तिरेको थिएन । नेपाली कांग्रेसबाट निर्वाचित कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले अवैध संरचना हटाउने अभियान आफ्नै कार्यकर्ताको व्यवसायबाट सुरु गरे ।

कोहलपुर–११ का प्रशान्त खत्री होटेलका सञ्चालक मात्रै होइनन् नेपाली कांग्रेसका कार्यकर्ता पनि हुन् । उनले २५ महिना पहिला साढे आठ लाख रुपैयाँमा होटेलमा सेयर हालेका थिए । उनका होटेल साझेदार नेकपा माओवादी केन्द्र निकट छन् । खत्रीले कोहलपुर राम्रोका लागि अभियान सुरु गरेको हो भने सम्पूर्ण संरचना भत्काइनुपर्नेसमेत माग गरेका छन् ।

यता नगरपालिकाले भने सार्वजनिक सूचना नै निकालिएको बताएको छ । सार्वजनिक संरचना निर्माण गरिएका अवैध संरचना खाली गर्न नगर विकास समितिले तीन दिने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार सकिएको थियो ।

पहिलो गाँसमै ढुंगा

न्यूरोडमा संरचना भत्काएपछि नगर विकास समितिको डोजरसहितको टोली कोहलपुर बसपार्क क्षेत्रमा गएको थियो । डोजर बसपार्क मूलगेटबाट भित्र छिर्न नपाउँदै त्यहाँका स्थानीयले ढुंगामुडा सुरु गरे । नगर विकास समितिले दिनभर प्रयास गरिरहयो । दर्जनौँको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाउँदासमेत व्यवसायीहरुले संरचना भत्काउन दिएनन् ।

बसपार्कका संरचनालाई मुख्य तार्गेट गरेका नगरप्रमुख सफल हुन सकेनन् । यहाँकै संरचना भत्काउन उनले एक महिनादेखि कानुनी प्रक्रियाको सहारा लिएका थिए । गत असारदेखि नगर विकास समितिले बसपार्क सुधार समितिसँग सम्झौता नवीकरण गरेन । त्यसअघि बसपार्कमा रहेका संरचनाहरुबाट नगर विकास समितिले मासिक शुल्क उठाउँदै आएको थियो ।

ती संरचना हटाउनकै लागि त्योभन्दा नगर विकास समितिले निर्णय नै गरेर ३५ दिने सूचना जारी ग¥यो । थप दिने अल्टिमेटमसमेत दिएको थियो । लामो समयदेखि पार्टीहरुबीच राजनीति हुने गरेको बसपार्कमा यसपटक पनि दलहरु धुव्रीकृत भए । खासगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको असहयोग नगर विकासका लागि बाधक बनिदियो । नेकपा एमाले नगर कमिटीका अध्यक्ष खिलप्रसाद भुसालले त उपयुक्त विकल्पबिना कुनै पनि हालतमा संरचना भत्काउन नहुने अडान लिएका छन् ।

उनी स्वयम् पनि त्यहाँ पुगेर विरोध जनाएका थिए । दिनभर जिल्लादेखि केन्द्रसम्मको शक्ति केन्द्र धाउँदासमेत नगर विकास समितिका अध्यक्ष सफल भएनन् । साँझपख बोलाइएको सर्वदलीय बैठकसमेत बिनानिष्कर्ष टुंगिएको छ । यसअघि पनि निवर्तमान मेयर लुटबहादुर रावतले डोजर चलाउन खोज्दा पार्टीकै असहयोगका कारण पछि हटेका थिए ।

‘अवैध धन्दाको जिम्मा कसले लिन्छ’
पूर्णप्रसाद आचार्य अध्यक्ष
कोहलपुर नगर विकास समिति

आवश्यकता महसुस गरेर ३५ दिने सूचना जारी गरेर संरचना भत्काउने अभियान सुरु गरिएको नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए । बसपार्क सुधार समितिको नाममा खडा भएको अवैधधन्दा गरिरहेको भन्दै उनले कारबाही गर्ने हिम्मत गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

नगर विकास समितिले व्यवसाय गर्न भाडा दिएको भन्दै उनले चर्को मूल्यमा बेच्नको लागि नदिएको समेत बताए । ‘आज करोडौँको धन्दा भइरहेको छ । जुवा त्यही हुन्छ । यौनधन्दा त्यही हुन्छ । ठग्ने काम त्यही हुन्छ । त्यसको जिम्मा कसले लिने ?,’ आचार्यले प्रश्न गरे ।

अहिले आफूले कोहलपुरको राम्रोको लागि अभिायन सुरु गरेको भन्दै उनले स्थानीय प्रशासनले साथ दिनैपर्ने र नदिने जनताको बीचमा जाने बताए । यस्तै क्रिकेट मैदान क्षेत्रमा समेत अर्बौंको धन्दा हुने गरेको उनको भनाइ छ । ऐलानीका नाममा नगर विकास समितिको जग्गासमेत बेचिएको आचार्यले बताएका छन् । ‘त्यहाँबाट आउने कमिसन कहाँ कहाँ पुग्छ । किन हामी मौन छौँ,’ उनले भने, ‘हामी कोहलपुरवासीको विकास र समृद्धिका लागि हामी लड्न तयार छौँ ।’

आफूले सम्पूर्ण प्रक्रिया पूरा गरेर अभियान थालेको उनले बताए । असारदेखि अनुनय गर्दा पनि टेरिएन । बेथितिका चाङ छन् । समस्या टुलुटुल हेरेर बस्न सकिँदैन । यात्रा कठिन छ । राम्रो गर्ने कोसिस गरेका छौँ । हामीबाट भएका गल्ती जनताले माफ गर्दैनन् । सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अघि बढ्न आचार्यले अपील गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार