केन्द्रीय निर्णयलाई बेवास्ता गरी एक्लै चुनावमा जाने की केन्द्रको निर्णयलाई कार्यान्वयन गर्ने विषयमा कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गर्न सकेन ।
एक्लै चुनावमा जाने भन्ने लविङ भए पनि नेपाली कांग्रेस बाँके नेतृत्व चुनावी तालमेलको विकल्प छैन भन्ने दोधारे बुझाइमा पनि छ । त्यसैले त शुक्रबारको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले स्पष्ट धारणा राख्न सकेन ।
नेपालगन्ज ।
नेपाली कांग्रेस बाँकेको दोधारे मनस्थिति छ, ‘एकः जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने । दुईः तर, केन्द्रीय कार्यसमितिले सत्तारुढ दलहरुका बीचमा चुनावी तालमेल गरेर जाने गरी निर्णय गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन हुने अवस्था आए केन्द्रको निर्देशनानुसार अघि बढ्ने ।’
सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि केन्द्रले पाँच दलीय गठबन्धन निर्माण गरेको थियो तर, बाँकेमा उक्त तालमेल प्रभावकारी भएन । तर, संघ र प्रदेशसभाको चुनाव स्थानीय तह जस्तो नभइ केन्द्रको निर्णयानुसार गठबन्धन हुने कतिपय नेपाली कांग्रेसका नेताहरुकै भनाइ छ । यदी केन्द्रीय सत्तारुढ दलहरुका बीच चुनावी तालमेल भए नेपाली कांग्रेसले बाँकेमा कसरी चित्त बुझाउने त ?
यो विषयमा नेपाली कांग्रेस बाँके अनिर्णित बनेको छ । शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले बाँकेका सबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने विषयमा पार्टी नेतृत्वसँग परामर्श भइरहेको जनाएको छ । तर, स्पष्ट बुझाइ कांग्रेसमा छैन ।
केन्द्रीय निर्णयलाई बेवास्ता गरी एक्लै चुनावमा जाने की केन्द्रको निर्णयलाई कार्यान्वयन गर्ने विषयमा कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गर्न सकेन । एक्लै चुनावमा जाने भन्ने लविङ भए पनि नेपाली कांग्रेस बाँके नेतृत्व चुनावी तालमेलको विकल्प छैन भन्ने दोधारे बुझाइमा पनि छ । त्यसैले त शुक्रबारको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले स्पष्ट धारणा राख्न सकेन ।
२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेपाली कांग्रेसले अपेक्षाकृत नतिजा निकाल्न सकेन । त्यतिबेला बाम गठबन्धनको असरले पनि कांग्रेस शक्तिविहीन अवस्थामा थियो । प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र भएको बाँकेमा नेपाली कांग्रेसले जित सुनिश्चित गर्न सकेन ।
क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्र, २ मा जनता समाजवादी पार्टी (जसपा) र ३ मा नेकपा एमालेले चुनाव जितेका थिए । त्यस्तै ६ वटा निर्वाचन क्षेत्र भएको प्रदेशसभामा पनि कांग्रेस एक सिटमा सीमित भयो । एमालेले दुईवटा, माओवादीले दुई र जसपाले एकवटा निर्वाचन क्षेत्र जित्दा नेपाली कांग्रेस एकै सिटमा समेटियो ।
तर, अहिले नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्दा पनि जित्ने दाबी गर्छ । यसको पहिलो आधार भनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुनु र नेकपा एमाले फुट्न भएको नेपाली कांग्रेसले जनाएको छ । अर्काे भनेको, अहिले कम्युनिस्टबीच चुनावी तालमेल हुने सम्भावना नहुनुले पनि कांग्रेस शक्तिमा आउने दाउमा छ ।
अहिले बाँकेमा कांग्रेस एक्लै चुनावमा जाने छलफल भइरहेको नेपाली कांग्रेसका बाँके सभापति नारायणप्रसाद गौडेलले जनाए । ‘बाँकेमा कांग्रेस एक्लै चुनाव जित्न सक्षम छ,’ उनले भने, ‘त्यसै अनुरूप हामी तयारीमा जुटेका छौं ।’ यदी चुनावी तालमेल भएमा आफूहरुले कति सिटमा दाबी गर्ने त्यसको निष्कर्षमा अहिलेनै पुगिनसकेको उनी बताउँछन् ।
क्षेत्रीय समितिहरुबाट आकांक्षीहरुको सिफारिस आएपछि कांग्रेसले कति सिट दाबी गर्ने भन्ने विषयमा छलफल हुने उनी बताउँछन् । सामान्य आफ्नो तयारी हुन्छ नि भन्ने पत्रकारहरुको प्रश्नमा सभापति गौडेलले भने, ‘त्यो सही हो ।
तर, हामीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार हुने तयारी गरिरहेका छौं ।’ २०७४ को चुनावमा कांग्रेसभन्दा बढी सिट जितेको माओवादी पनि उचित स्थानको खोजीमा छ । नेपाल एकीकृत समाजवादी (एस) पनि आफ्नो अस्तित्वको बचाउमा छ । त्यस्तै जसपाले आफ्नो शक्तिलाई थप सशक्त पार्ने रणनीतिमा छ ।
सत्तारुढ दलहरुबीच तालमेल हुने भए कति सिट कांग्रेसले दाबी गर्ने भन्ने विषयमा अन्योल हुँदा पनि गठबन्धन दलहरुबीच छलफल हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्