बाँके ।
बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ । राति १ः२८ बजेको समयमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु बाँकेस्थित हात्तिसार हो । भूकम्पको धक्का बाँके, बर्दिया, सुर्खेतसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।
मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । बाँकेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले कतै क्षति नगरेको बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले भूकम्पले क्षति गरेको विवरण कतैबाट पनि प्राप्त नभएको जानकारी दिए । ‘भूकम्पले कतै पनि मानवीय र भौतिक क्षतिको विवरण अहिलेसम्म हामीलाई आएको छैन,’ उनले भने, ‘भूकम्पको महसुस भए पनि केही क्षति भने भएको छैन ।’









प्रतिक्रिया दिनुहोस्