कोहलपुर–नेपालगन्जका ७ वटा योजना शिलान्यास



नेपालगन्ज ।

नेपालगन्ज र कोहलपुरमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट निर्माण हुने ६ वटा योजनाको शिलान्यास गरिएको छ ।

शनिबार नेपालगन्जमा दुईवटा कार्यक्रम गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्म निर्माण गरिने पाँचवटा आकासे पुल, सडकबत्ती र जमुनाहदेखि १० किलोमिटर आठ सय मिटर सडकमा अस्फाल्ट थप्ने योजनाको शिलान्यास गरेका हुन् । धम्बोझी चोक र राँझा चोकमा छुट्टाछुट्टै कार्यक्रम गरी योजनाको शिलान्यास गरिएको हो ।

शिलान्यासपछि बोल्दै मन्त्री राईले अबको विकासको राजनीतिक प्रतिस्पर्धा गर्न आह्वान गरे । उनले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरुसँग सावधान रहन जनतालाई आग्रह पनि गरे । आफूले सधैं सबैको विकास र उन्नतिको राजनीति गरेको मन्त्री राईले दाबी गरेका छन् ।

मन्त्री राईले आफू बाँकेबाट दुईपटक सांसद र तीनपटक मन्त्री भएको अवधिमा ५२ वटा सडक निर्माण गराएको, ५२ वटा हाइमास्ट लाइट जडान गराएको, भेरी अस्पतालका लागि अत्याधुनिक भवन निर्माण सुरु गराएको, विभिन्न धार्मिक तथा सामाजिकस्थलहरुको निर्माण तथा जिर्णोद्वार गरेकोलगायत विकासका कामहरु गरेको उल्लेख गरे ।

आगामी दिनमा बाँकेका लागि धेरै विकास योजना ल्याउने विश्वास दिलाउँदै मन्त्री राईले क्षेत्र नम्बर २ मात्र नभइ आफूले समग्र जिल्ला र देशलाई ध्यानमा राखेर काम गरिरहेको पनि बताए ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सबै योजनाको काम एक वर्षभित्रै सम्पन्न हुने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ५ गते आइतबार