कोहलपुरको आरती सामुदायिक वनमा बालक मृत फेला, हत्या गरिएको आशंका



बाँके ।

कोहलपुर नगरपालिका वडा नम्बर– ७ मा रहेको आरती सामुदायिक वनभित्र एक युवक मृत फेला परेका छन् । जानकी गाउँपालिका– ६ का १६ वर्षीय शिव लोनिया मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बिहान करिब साढे १० बजेतिर मात्र बालक मृत फेला परेको प्रहरीलाई खबर आएको कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए । घटनाको अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट दुई जना प्रहरी निरीक्षकको कमाण्डमा विशेष प्रहरी टोली परिचालन गरिएको छ ।

घटना शंकास्पद भएको डीएसपी मल्लले मिसन टुडेलाई जानकारी दिए । ‘घटना शंकास्पद देखिएको छ । हामीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘केही व्यक्तिहरु समेत पक्राउ परेको अवस्था छ ।’ बालकको शव आरती सामुदायिक वनको रझगडवामा फेला परेपनि हत्या भने करिब २ किलोमिटर टाढा शक्ति सामुदायिक वनमा गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

‘युवकको हत्या गरिएको भए, शव फेला परेको स्थानमा हत्या गरिएको होइन’ घटनास्थलमा खटिएका एक अनुसन्धान अधिकृतले भने, ‘हत्या नै भएको भए केही किलोमिटर टाढा कुटपिट भएको हुनसक्छ ।’

गाउँका अन्य व्यक्तिसहित उनी दाउरा लिनको लागि शक्ति सामुदायिक वनमा गएका थिए । मृतक बालकको टाउँकोमा भाटा र लाठीले प्रहार गरेजस्तो देखिएको छ । टाउको र छातीमा चोट देखिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार