नेपालगन्ज उपमहानगरले ग¥यो दोहोरो कर असुली



उपमहानगरपालिकाको ढड्डामा पनि उक्त जमिन बनियाँलगायत स्थानीय केही व्यक्तिहरुको बहाल बिटौरीको जमिन भएको रेकर्ड छ । तर, शंकास्पद के छ भने उपमहागरपालिकाले एकै अवधिमा एकै जमिनको एक व्यक्तिबाट राजस्व असुल्ने र अर्को समूहबाट भाडा पनि उठाउने गरेको पाइएको छ । यसो किन भएको हो ? उपमहानगरपालिकाका सम्बन्धित कर्मचारीहरु जवाफ दिन सक्दैनन् ।

नेपालगन्ज । 

नेपालगन्ज उपमहानगरपालिकाले एकै ठाउँको जमिनको एउटा व्यक्तिबाट राजस्व र अर्काे समूहबाट उक्त जग्गाको भाडा पनि असुल गरेको पाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ त्रिवेणी मोडस्थित चाइना बजार नामले चिनिने स्थानको जमिनको २०६८ सालदेखि स्थानीय केही व्यक्तिहरुले बहाल बिटौरीमा दर्ता भएको उक्त जग्गाको राजस्व तिर्दै आएकोमा २०६८ सालदेखि नै उक्त जग्गामा घुम्ती पसल राखेर व्यापार गरिरहेकाहरुबाट जग्गाको भाडा पनि उपमहानगरपालिकाले नै उठाउँदै आएको पाइएको हो ।

नेपालगन्जको त्रिवेणीमोडस्थित शान्ति स्मारकको ठीक पूर्वपट्टि रहेको चाइना बजारका घुम्ती पसलेहरुले २०६८ सालदेखि लगातार मासिकरुपमा नेपालगन्ज उपमहानगरपालिकालाई भाडा जमिनको भाडा तिर्दै आएका थिए । ती पसलेहरुलाई तत्कालीन नगर विकास समितिले उक्त जग्गा सार्वजनिक भएको र चाहिएको बेला छोड्नुपर्ने भन्दै पसल राख्न अनुमति दिएको स्थानीय व्यापारी बताउँछन् ।

तर, गत वर्ष २०७८ साल पुस १३ गते उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले उक्त जमिन स्थानीय घनश्याम बनियाँको भएको भन्दै अबदेखि बनियाँलाई नै हकभोग गर्न दिने निर्णय ग¥यो ।

त्यसपछि बनियाँ आफ्नो जमिन भएको भनेर उपमहानगरपालिकाले दिएको पत्र देखाउँदै स्थानीय पसलेहरुलाई अबदेखि भाडा नगरलाई नभइ आफूलाई बुझाउनुपर्ने भन्दै आफूसँग सम्झौता गर्न भन्न थाले । स्थानीय व्यापारीहरु आशंकित भए, ‘कसरी यो जमिन व्यक्तिको नाममा गयो ?’ उनीहरु मासिक भाडा बुझाउन उपमहानगरपालिका उपमहानगरपालिकाले अब भाडा नबुझ्ने र जसको जमिन हो उसैलाई बुझाउन भन्यो ।

गत वर्ष २०७८ सालमा स्थानीय २८ जना पसलेहरुले कोरोना सुरु भएदेखिको छुटसहित एक लाख ५८ हजार रुपैयाँभन्दा बढी भाडा उपमहानगरपालिकालाई बुझाएका थिए । पसलेहरुले गत वर्षसम्म मासिकरुपमा सबै पसलबाट दुई हजार पाँच सय रुपैयाँका दरले उठाएर मासिक ७० हजार भाडा तिर्ने नियम उपमहानगरपालिकाले लगाइदिएको बताएका छन् । यता जमिन आफ्नो भएको दाबी गर्ने बनियाँले पनि २०५८ देखि हालसम्म नियमितरुपमा जमिनको राजस्व बुझाउँदै आएका उपमहानगरपालिकाको रेकर्डमा देखिन्छ ।

हाल स्थानीय पसलेहरु र उक्त स्थानको जग्गा आफ्नो भएको दाबी गर्ने स्थानीय घनश्याम बनियाँबीच टकराब छ । पसलेहरु उपमहानगरपालिकाले १० वर्षसम्म उपमहानगरपाललिकाले उक्त जमिन आफ्नो भएको भन्दै भाडा बुझ्दै आएकोमा अहिले व्यक्तिले दाबी गरेकोमा छलछामपूर्ण तरिकाले उक्त जमिन व्यक्तिलाई दिइएको हुनसक्ने आशंका व्यक्त गर्छन् । यता बनियाँसँग बहाल बिटौरीमा आफ्नो नाममा दर्ता भएको कागज छ ।

उपमहानगरपालिकाको ढड्डामा पनि उक्त जमिन बनियाँलगायत स्थानीय केही व्यक्तिहरुको बहाल बिटौरीको जमिन भएको रेकर्ड छ । तर, शंकास्पद के छ भने उपमहागरपालिकाले एकै अवधिमा एकै जमिनको एक व्यक्तिबाट राजस्व असुल्ने र अर्को समूहबाट भाडा पनि उठाउने गरेको पाइएको छ । यसो किन भएको हो ? उपमहानगरपालिकाका सम्बन्धित कर्मचारीहरु जवाफ दिन सक्दैनन् ।

उपमहानगरपालिकाको कानुन शाखाका अधिकृत माया शर्माका अनुसार बनियाँसँग भएका प्रमाणका आधारमा कार्यपालिकाले उक्त जमिन बनियाँकै भएको निर्णय गरेको हो । तर, स्थानीय सरकारले एकै समयावधिमा एकै ठाउँको जमिनको फरक व्यक्तिबाट राजस्व लिने र फरक व्यक्ति तथा समूहबाट भाडा असुल गर्नुको कारण दिन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार