दाङ ।
छोरीको प्रेमीलाई बन्धक बनाएर कुटपिटमा संलग्न भएकाविरुद्ध प्रहरीले शरीर बन्धक बनाइ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
शरीर बन्धक बनाइ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको हो । मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय गढवाका इञ्चार्ज प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।
‘घटना थाहा पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको छ । संलग्न पाँचजनामध्ये दुईजना हाम्रो हिरासतमा छन् । बाँकी तीनजनाको खोजी जारी छ,’ उनले भनिन्, ‘योजनाबद्धरुपमा घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।’
घटनाका मुख्य आरोपी पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले हिरासतमा राखेको छ । बाँकी तीनजना उनीहरुका छोराहरुको खोजी भइरहेको गढवा प्रहरीले जनाएको छ । पाटेश्वर यादव शिक्षक हुन् । जनज्योती माध्यमिक विद्यालय राजपुर–३ मा पढाउँछन् । त्यही विद्यालयमा उनकी छोरी पनि पढ्छिन् ।
छोरीसँगै पढ्ने स्थानीय १९ वर्षीय मन्साराम यादवलाई पाटेश्वरले योजना बुनेर घरमा बन्धक बनाएर कुटपिट गरेका हुन् । मन्सारामले पाटेश्वरकी छोरीलाई मनपराएको थाहा पाएपछि पाटेश्वरले कुटपिटको योजना बनाएका थिए ।
नाटकीयरुपमा मन्सारामलाई चोरी गर्न घरमा आएको बेलामा कुटपिट गरेको नक्कली कागजसमेत तयार पारेको प्रहरीले फेला पारेको छ । कुटपिटबाट घाइते मन्सारामको नेपालगन्जमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्