बाँके ।
गुलरिया नगरपालिका–३ खैरापुरमा रहेको गणपति आयल स्टोरले परिणामभन्दा कम पेट्रोल दिने गरेको पाइएको छ । बुधबार गरिएको अनुगमनको क्रममा उपभोक्तालाई परिणामभन्दा कम पेट्रोल बिक्रीवितरण गरिरहेको पाइएको हो ।
पटकपटक पाँच लिटर पेट्रोल हालेर परीक्षण गर्दा कम परिणाम देखिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।
‘पाँच/पाँच लिटर पेट्रोल हालेर तीनपटकसम्म चेकजाँच गर्दा पाँचदेखि दश मिलिलिटर पेट्रोल कम देखियो,’ उनले भने, ‘उक्त पेट्रोल पम्पको तत्कालका लागि कारोबार रोक्का गरिएको छ ।’
कारोबार रोक्का गरिएसँगै पेट्रोल पम्प सञ्चालकले मेसिन चेकजाँचका लागि नेपाल गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जमा निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले मिसन टुडेलाई जानकारी दिए ।
‘पम्पमा प्रयोग भएको मेसिन चेकजाँचका लागि सञ्चालकले गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जमा निवेदनमा दिनुभएको छ,’ उनले भने, ‘कार्यालयबाट प्राविधिक आएर मेसिन परीक्षण गरेपछि कारोबार गर्न पाउनुहुन्छ ।’
हुलाकी राजमार्गको खैरापुरमा रहेको गणपति आयल स्टोरले यसअघिसमेत परिणामभन्दा कम पेट्रोलियम पदार्थ दिने गरेको उपभोक्ताहरु बताउँछन् । पटकपटक कम परिणाममा दिने बिक्री गर्ने गणपतिलाई कारबाहीको दायरामा ल्याउन उपभोक्ताले माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्