कोहलपुरलाई गिज्याउँदै बसपार्कको फोहोर



कोहलपुरमा रहेको बसपार्कमा एक महिनायता फोहोर उठ्न सकेको छैन । दिनप्रतिदिन बसपार्क क्षेत्र दुर्गन्धित बन्दै गएपनि सरोकारवाला मौन छन् ।

तीन प्रदेशको प्रवेशद्वारको रुपमा चिनिने कोहलपुरको बसपार्कमा रहेको फोहोरले सबैलाई गिज्याइरहेको छ । तरपनि कोहलपुर नगरपालिका कानमा तेल हालेर बसिरहेको छ ।

शुभाकर विश्वकर्मा । गणेश रावत । कोहलपुर ।

कोहलपुर नगरपालिकाले चालु आर्थिक २०७८/०७९ को नीति तथा कार्यक्रममा समुदायसँगको साझेदारीमा फोहोरमैला व्यवस्थापन गर्ने नीति लिएको छ । फोहोरको वर्गीकरण र व्यवस्थापन गर्ने नीति लिएको नगरपालिकाले अझै फोहोर मैला व्यवस्थापन भने गर्न सकेको छैन ।

विगत पाँच वर्षदेखि फोहोर व्यवस्थापनको लागि प्रयास गर्दै आएको नगरपालिकाले अझै उचित फोहोर व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बन्दै गएको छ । नयाँ जनप्रतिनिधि आएको तीन महिना पुग्नै लाग्दा समेत फोहोरमैला व्यवस्थापनले प्राथमिकता पाएको छैन । यतिमात्रै होइन प्लाष्टिक झोलाको विकल्प खोज्ने नीति लिएको नगर नीति कार्यान्वयनमा समेत असफल सावित भएको छ ।

नीति तथा कार्यक्रमअनुसार काम हुन नसकेको प्रत्यक्ष उदाहरण बनेको छ, कोहलपुरमा रहेको छोटो तथा लामो दुरीको बसपार्क क्षेत्र । गुट्खामुक्त बनाइने भनिएको कोहलपुर बसपार्क दुर्गन्धित बन्दै गएको छ ।

लामो समयदेखि सरसफाइ र उचित फोहोर व्यवस्थान नहुँदा कोहलपुर बसपार्क फोहोर बन्दै गएको हो । सरोकारवाला निकायको बेवास्ताका कारण बसपार्क क्षेत्रभित्र जताजतै फोहोरैफोहोर देखिन्छ । कुहिने र नकुहिने तथा प्लास्टिकजन्य पदार्थको उचित व्यवस्थापन हुन नसक्दा बसपार्क क्षेत्र दुर्गन्धित हुँदै गएको छ ।

फोहोरको वर्गीकरण र व्यवस्थापन गर्ने नगरपालिकाको नीति समेत कागजमै सीमित छ । तर, फोहोर व्यवस्थापनका लागि कसैले पनि चासो दिएको देखिँदैन । कोहलपुर क्षेत्रमा सयौँ होटेल सञ्चालनमा छन् । बसपार्कभित्रै भाडा तिरेर ठेला व्यवसाय सञ्चालनसमेत हुँदै आएका छन् । आधा दर्जन बढी यातायात व्यवसायीका कार्यालय छन् । गन्तव्यमा जाने आउने यात्रुले समेत आफूले प्रयोग गरेका चाउचाउ, बिस्कुट, सूर्ती तथा गुट्खा खाएर त्यसको खोस्टा जथाभावी फाल्दा बसपार्कको सौन्दर्य नै कुरूप बन्दै गएको स्थानीयको भनाइ छ ।

बसपार्कमा रहेका नालीको समेत उचित व्यवस्थापन नहुँदा पनि बसपार्क क्षेत्र फोहोर तथा दुर्गन्धित हुँदै गएको स्थानीय विकल भट्टराईले बताए । ‘नाली सफाइ नहुँदा जाम भएको छ । यात्रुहरु बस्नका लागि बनाइएका बेञ्चमुनिसमेत गुट्खाका खोल यन्त्रतन्त्र भेटिन्छन्’ उनले भने । यतिमात्रै होइन, छाडा पशुचौपायाका कारणसमेत बसपार्क क्षेत्र फोहोर बनिरहेको छ ।

यसका साथै बसपार्क सौन्दर्यका लागि राखिएको रुखसमेत फोहोरका खोस्टाले भरिएका छन् । बसपार्क सञ्चालनको जिम्मा पाएको संस्थाले यहाँका पसल तथा होटेलबाट दैनिकरुपमा शुल्क संकलन गर्दै आएको छ । ‘बसपार्क सञ्चालनको जिम्मा लिएकाले हामीबाट दैनिक पैसा उठाउँछन्,’ बसपार्कमा व्यवसाय गर्दै आएका मुनबहादुर कठायतले भने, ‘हामीबाट पैसा मात्र उठाउँछन् तर, यहाँको सरसफाइमा ध्यान दिँदैनन् ।’

उनकाअनुसार पछिल्लो समय जथाभावीरुपमा फालिँदै आएको फोहोरको उचित व्यवस्थापन नहुँदा बसपार्क क्षेत्र दुर्गन्धित बन्दै गएको छ । कोहलपुरबाट सुर्खेत जान बसपार्क पुगेका कमल रावतले भन्छन्, ‘फोहोरले बस्न गाह्रो छ । नबसौँ गाडी पाएको छैन । बसौँ रोग सर्ने डर छ ।’ उनी दुई दिन नजिकैको होटेलमा बसेका थिए । होटेल सञ्चालन गर्नेका कारणसमेत बसपार्क फोहोर बन्दै गएको रावतले बताए ।

पहिलोपटक कोहलपुर आएका उनले आफूले सुनेको जस्तो कोहलपुर नदेखेको सुनाए । यता, बसपार्क बजार सुधार व्यवस्थापन समिति र कोहलपुर नगरपालिकाले ध्यान नदिँदा बसपार्क क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।

बसपार्कको सुरक्षाका लागि बसेको नेपाल प्रहरीले समेत फोहोर व्यवस्थापनका लागि ध्यान दिएको पाइँदैन । बसपार्क सुधार समितिका अध्यक्ष युवराज भण्डारीले साउन पहिलो सातादेखि फोहोर उठ्न नसकेको बताए । उनकाअनुसार सुरुमा बसपार्कको सम्पूर्ण जिम्मेवारी समितिले लिएको थियो ।

उनले कोभिड–१९ र नयाँ बसपार्क निर्माण भएपछि ठेक्का प्रक्रियामार्फत बागेश्वरी यातायात प्रालिले जिम्मा लिएको बताए । उनले बसपार्कबाट प्रालिले रकम लिने गरेको तर सरसफाइको काम नगरेको बताए ।

‘हामीले शौचालयबाट उठेको रकमबाट सरसफाइका दुई कर्मचारी खटाएका थियौँ । समितिले उनीहरुलाई रकम दिएन । हाम्रो स्रोतले धान्न सकेन । पैसा नपाएपछि उनीहरुले काम गर्न छोडेका छन्,’ उनले भने ।

‘हामीले फोहोर उठाउनुहोस् भन्न मिल्दैन’ (बक्स)
पूर्णप्रसाद आचार्य
नगर प्रमुख
कोहलपुर नगरपालिका

बसपार्क भित्रको सरसफाईको जिम्मा बसपार्क सुधार समितिले लिएको छ । उहाँले फोहोर उठाउन छोडेको जानकारी पाएको छु । बसपार्कभित्रका टहरा समेत नवीकरण भएका छैनन् । नगरले ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ । नवीकरण नभएकोले हामीले फोहोर उठाउनुहोस् भन्न मिल्दैन । बसपार्कको सम्पूर्ण व्यवस्थापनको ठेक्का बागेश्वरी यातायात प्रालिले लिएको छ ।

त्यहाँ धेरै कुराको समस्या देखिएको छ । यसले पार लागेन । अब नगरले फोहोर व्यवस्थापनको बैकल्पिक व्यवस्थापन गर्छ । अब नगर विकासले आफ्नै प्रोजेक्ट सञ्चालन गरी संरचना समेत तयार गर्छ । फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित भएको छ भने अबको केही दिनमा फोहोर उठाउँछौँ ।

फोहोर व्यवस्थापनमा असफल नगर 

कोहलपुर नगरपालिकालाई गुट्खामुक्त बनाउने तत्कालीन प्रमुख लूटबहादुर रावतको योजना असफल भयो । उनको कार्यकालमा हरित नगर, ग्रिन एण्ड क्लिन सिटीको नारा खुबै लाग्यो । गुट्खामुक्त नगर बनाउने आफ्नो पहिलो योजना उनले सुरु नै गर्न पाएनन् । रावतले कार्यकाल अवधिभर दीर्घकालीन फोहोर व्यवस्थापन गर्न प्रयास नगरेका होइनन् ।

तर, दीर्घकालीन सोच र योजनाका साथ अघि बढ्न नसक्दा उनको त्यो प्रयास बालुवामा पानी खन्याए झै भयो । परिणामतः उनी फोहोर व्यवस्थापनमा पूर्णरुपमा असफल सावित भए । अहिले कोहलपुरको प्रमुख रहेको पूर्णप्रसाद आचार्यले समेत चुनावमा फोहोर व्यवस्थापनको मुद्दा नउठाएका होइनन् । नगरप्रमुख निर्वाचित भएको तीन महिना पुग्नै लाग्दा समेत फोहोर व्यवस्थापन प्राथमिकता बन्न सकेको छैन ।

उनले नीति तथा कार्यक्रममा समेत फोहोरको वर्गीकरण तथा व्यवस्थापन र प्लाष्टिक झोला प्रयोगको निषेधको नीति लिएका छन् । पछिल्लो समय प्रचारमुखी अनुगमनलाई तिव्रता दिएका उनले फोहोर व्यवस्थापनको विषयलाई समेट्न सकेका छैनन् । दैनिक हजारांै यात्रुहरुको आवागमन हुने बसपार्क क्षेत्र दुर्गन्धित भएको विषयमा नगरपालिकाले ध्यान दिन नसक्नु पनि त्यसको उदारहण हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २३ गते सोमबार