खर्च पाउन योग्यता पुगेको अधिकारीलाई वार्षिक हिसाब गरी प्रत्येक महिनाको तलब भुक्तानी हुने बेला इन्धन खर्च जोडेर दिइनेछ । १५ दिन भन्दा बढी बिदा वा काजमा रहेको बेला यो सुविधा प्रयोग गर्न पाइने छैन ।
भ्रमण खर्च उपलब्ध गराइएका लागि इन्धन खर्च प्रदान गरिनेछैन । चालू आर्थिक वर्षको साउन १ गतेदेखि नै कोहलपुर नगरपालिकाले इन्धनको कुपन प्रणाली बन्द गरिसकेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
पेट्रोलियम पदार्थको नाममा हुने फजुल खर्च रोक्न कोहलपुर नगरपालिकाले नयाँ मापदण्ड लागू गरेको छ । पेट्रोल र डिजेलको नाममा हुने अनावश्यक खर्च रोक्दै मितव्ययिता अपनाउनको लागि कुपन प्रणाली बन्द गरिएको छ । गत आर्थिक वर्षसम्ममा जनप्रतिनिधि र कर्मचारीका लागि पेट्रोल र डिजल हाल्नको लागि वितरण हुँदै आएको कुपन बन्द गरिएको हो ।
चालु आर्थिक वर्षको साउन १ गतेबाट नै पेट्रोल, डिजल हाल्नको लागि उधारो कुन दिन बन्द गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । ‘चालु आर्थिक वर्ष २०७९/०८० देखि लागु हुनेगरी प्रशासकीय कार्यविधि (खर्च मापदण्ड नियमन गर्ने) निर्णय भएसँगै कुपन प्रणाली बन्द भइसकेको छ’ उनले भने, ‘कार्यविधि अनुसार नै पेट्रोल, डिजेलको पैसा पाइनेछ ।’
चालु आर्थिक वर्षसम्म नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अन्य व्यक्तिहरुले समेत पेट्रोल, डिजेलको कुपन पाउने गरेका थिए । कुपन बाँड्दा दुरुपयोग धेरै हुने गरेको थियो । इन्धन खर्चमा मितव्ययिता अपनाउनको लागि गत असार १५ गते बसेको कार्यपालिका बैठकले प्रशासकीय कार्यविधि (खर्च मापदण्ड नियमन गर्ने) निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
खर्च कटौती गर्न बनेको प्रशासकीय कार्यविधि (खर्च मापदण्ड नियमन गर्ने) नियमावली २०७९ नगर कार्यपालिकाले स्वीकृत समेत गरिसकेको छ । साउन १ गतेदेखि लागू गर्नेगरी गत असार १६ गतेको नगरसभाबाट समेत प्रशासकीय कार्यविधि (खर्च मापदण्ड नियमन गर्ने) नियमावली २०७९ अनुमोदन भएको थियो ।
अबदेखि नियमानुसार इन्धन पाउने जनप्रतिनिधि र कर्मचारीलाई मासिक तलबमा नै समावेश हुनेगरी इन्धन बापतको रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिने उनले जानकारी दिए । ‘अत्यवश्यकीय रूपमा आकस्मिक कसैलाई इन्धन उपलब्ध गराउनु पर्ने भएमा नियमावलीअनुसार माग फारम स्वीकृत गराई निर्णय भएमा मात्र उपलब्ध गराईनेछ’ उनले मिसन टुडेसँग भने, ‘जनप्रतिनिधि वा कर्मचारीले कार्यालय प्रयोजनका लागि आवश्यक परेमा पेट्रोल, डिजेलको लागि माग फारम भर्नुपर्नेछ ।’
माग फाराम भरिसकेपछि नियमावलीमा तोकिएका व्यक्तिको स्वीकृति र निर्णय भएमा मात्र कुपन उपलब्ध गराईने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । प्रक्रियाअनुसार नआएमा पहिलाको जस्तो कसैले पनि उधारो कुपन पाउने छैनन् । ‘यसले कार्यालयको इन्धनमा हुने खर्चमा भएपनि केही भएपनि कटौती मात्र गर्नेछैन । वातावरण सुन्दर बनाउनमा समेत मद्दत पु¥याउँछ ।’
तीन वर्षमा एक करोड बढी खर्च
कोेहलपुर नगरपालिकामा विगत तीन आर्थिक वर्षमा १ करोड बढी रकम इन्धनमा खर्च भएको छ । कार्यालय, अन्य प्रयोजन र कुपन वितरणमा पछिल्ला तीन आर्थिक वर्षमा कूल १ करोड ६ लाख रुपैयाँ इन्धनमा खर्च भएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा ३३ लाख रुपैयाँ पेट्रोल र डिजेलमा खर्च भएको कोहलपुर नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा इन्धन खर्च बढेर ३५ लाख पुगेको थियो । गत आर्थिक वर्ष २०७८/०७९ मा बढेर ३८ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
सबैभन्दा धेरै खर्च कार्यालय प्रयोजनको लागि भएपनि कर्मचारी, जनप्रतिनिधि र अन्य व्यक्तिले समेत इन्धनको कुपन लिएर फजुल खर्च गरेको बताइएको छ । कोहलपुर नगरपालिकाकाअनुसार अब कसैले पनि व्यक्तिगत रुपमा पेट्रोल, डिजेल पाउने छैनन् ।
यस्तो छ नियमावली
नगरपालिकामा सञ्चालन हुने तालिम, गोष्ठी बैठक लगायतका कार्यक्रमको लागि दैनिक प्रशासनिक खर्चमा एकरुपता ल्याई मितव्ययी तवरले खर्च गर्न वान्छनीय भएकोले नगरपालिकाले प्रशासकीय कार्यविधि (नियमन गर्ने) ऐन, २०७६ को दफा ३ ले दिएको अधिकार प्रयोग नियमावली नै जारी गरिएको छ । नियमावलीको नाम प्रशासकीय कार्यविधि (खर्च मापदण्ड नियमन गर्ने) नियमावली २०७९ रहेको छ ।
कार्यविधि कोहलपुर राजपत्रमा प्रकाशित भएर साउन १ बाट लागू समेत भइसकेको छ । नियमावलीको परिच्छेद ४ को सवारी साधन प्रयोग सम्बन्धी व्यवस्थाको १५ नम्बर बुँदामा उल्लेख गरिएअनुसार इन्धन सुविधा पाउने योग्य कर्मचारीले आर्थिक वर्ष सुरु भएको एक महिनाभित्र आवश्यक कागजातसहित जिन्सी शाखामा निवेदन दिनुपर्नेछ ।
खर्च पाउन योग्यता पुगेको अधिकारीलाई वार्षिक हिसाब गरी प्रत्येक महिनाको तलब भुक्तानी हुने बेला इन्धन खर्च जोडेर दिइनेछ । १५ दिन भन्दा बढी बिदा वा काजमा रहेको बेला यो सुविधा प्रयोग गर्न पाइने छैन । भ्रमण खर्च उपलब्ध गराइएका लागि इन्धन खर्च प्रदान गरिनेछैन । लिखित अनुमतिबिना काममा खटिएको अवस्थामा खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्नेछ ।
नयाँ कार्यविधिअनुसार अफिसर तथा शाखा अधिकृतस्तरका कर्मचारीले १० लिटर र सहायकहरुले ७ लिटर मासिक रुपमा इन्धन सुविधा पाउनेछन् । ‘कार्यविधि अनुसार भएपछि कुपन हुँदैन । कुपन नभएपछि पेट्रोल पम्पमा गएर साट्ने प्रवृत्तिको अन्त्य हुनेछ । यसले गर्दा आवश्यक पर्दा मात्रै खर्च हुन्छ । यसले अनावश्यक खर्च रोक्छ’ प्रमुख प्रकाशकीय अधिकृत ढकालले मिसन टुडेसँगभने ।
‘व्यक्तिगत प्रयोजनका लागि इन्धन लिन्न’
संगीता सुवेदी
कार्यबाहक प्रमुख
कोहलपुर नगरपालिका
पहिला इन्धनको कुपन दिने गरेको रहेछ । अहिले त्यसलाई व्यवस्थित गरिएको हो । जनप्रतिनिधिको हकमा पनि सोहीअनुसार लागू हुने हो ।
पहिलाका जनप्रतिनिधिलाई तोकेरै दिने गरिएको रहेछ । प्रमुख र उपप्रमुखले समेत तोकेरै लिने गरेको देखियो । अहिलेसम्म मैले इन्धन खर्च लिएको छैन । हामीले प्रयोग गर्ने सवारीको हकमा चालकहरुले प्रक्रियागत रुपमा व्यवस्थापन गर्छन् ।
म मेरो व्यक्तिगत प्रयोजनको लागि नगरपालिकाबाट इन्धन लिदिँन । मेयर साबले पनि लिनु भएको छैन । अहिले प्रमुख र उपप्रमुखले लिने गरेको इन्धन कटाइएको छ । यसमा आधिकारिक निर्णय भने भएको छैन ।
दुई महिनामा दुवै जनाले एकपटक पनि लिएका छैनौं । अन्य जनप्रतिनिधिको हकमा कार्यपालिकाले थप निर्णय लिन्छ होला ।
यदिमात्रै होइन विगतमा हुने गरेको अनावश्यक खर्च समेत रोकिएको छ । यस्ता निर्णय प्रभावकारी रुपमा लागू हुन्छन् ।
‘म हुञ्जेल कसैलाई कुपन बाँडिदैन’
टीकाराम ढकाल
प्रमुख प्रशासकीय अधिकृत
कोहलपुर नगरपालिका
कोहलपुरमा इन्धनको लागि वितरण गरिने कुपन बन्द भएको छ । खर्च कटौती र इन्धन खपत कम गर्ने उद्देश्यले कुपन वितरण बन्द गरिएको
हो । खर्च कटौतीको लागि नगर कार्यपालिकाले नियमावली लागू गरेको छ ।
खर्च कम गर्ने र इन्धनबाट हुने प्रदुषण रोक्ने पनि हाम्रो लक्ष्य हो । यसको लागि हामीले नियमावली नै पारित गरिसकेका छौँ । यो लागू समेत भइसकेको छ ।
यसको प्रक्रिया समेत सुरु भइसकेको अवस्था छ । यो हामीले गरेको नयाँ काम हो । यसमा धेरै चुनौती छन् । तर हाम्रो प्रयास प्रभावकारी रुपमा कार्यन्वयन गर्ने नै हुनेछ । अब कोहलपुर नगरपालिकाले कसैलाई व्यक्तिगत रुपमा कुपन बाँड्दैंन ।
यसमा जनप्रतिनिधि र कर्मचारी समेत नियममा बाँधिनेछन् । उनीहरुले नियमावलीमा गरिएको व्यवस्था अनुसार प्रक्रियागत रुपमा सेवा सुविधा पाउनेछन् । यो पहिलो भन्दा कम गरिएको छ ।
यसलाई पूर्ण रुपमा अन्त्य गर्न त तत्काल सम्भव छैन । विस्तारै कम गर्दै जाने हाम्रो लक्ष्य हो । म कोहलपुरमा हुञ्जेल कसैलाई कुपन बाँडिदैन ।









प्रतिक्रिया दिनुहोस्