भारतीय कुखुराको मारमा बाँकेका कुखुरापालक व्यवसायी



कुखुरा तथा पंक्षीजन्य पदार्थ आयात गर्न रोक्नुपर्ने सुरक्षा निकायले नै तस्करहरुलाई समात्न चासो दिन छोडेको नेपाली कुखुरापालक किसानहरु बताउँछन् । बाँकेमा रहेका कुखुरापालक किसानहरुको भेलाले तस्करी रोक्न तत्कालै दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । पछिल्लो दुई हप्तायता नेपाली किसानका कुखुराहरु बिक्री नभएको बताइएको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेका कुखुरा व्यवसायीले पछिल्लो केही दिनयता आफ्ना कुखुराहरु बिक्री हुन छाडेको गुनासो गरेका छन् । व्यवसायीका अनुसार भारतबाट अवैधरुपमा कुखुराको आयात हुँदा नेपाली किसानका कुखुरा बिक्री हुन छाडेका हुन् । भारतीय कुखुरा सस्तोमा पाइने भएपछि बिक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेको उनीहरुको गुनासो छ ।

कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले कुखुरा तथा पंक्षीजन्य पदार्थ आयात गर्न रोक्नुपर्ने सुरक्षा निकायले नै तस्करहरुलाई समात्न चासो दिन छोडेको आरोप लगाए । उनले पछिल्लो दुई हप्तायता नेपाली किसानका कुखुराहरु बिक्री नभएको बताए । कुखुरा बिक्री नहुँदा मर्न थालेका र दानाको लागत पनि बढिरहेको उनको भनाइ छ ।

प्रायः बिहानको समयमा कुखुराहरुको तस्करी बढी हुने गरेको छ । यसका साथै सीमाक्षेत्रमा सञ्चालित कुखुरा फार्महरुले भारतबाट ल्याएका कुखुरालाई आफ्नो भनेर बिक्री गरिरहेका व्यवसायीहरु बताउँछन् ।

विशेषगरी बाँकेको नरैनापुर र खजुराको सैनिकबाट धेरैजसो कुखुरा तस्करी हुने गरेको किसानहरु बताउँछन् । जुमनाह सीमा नाकामा रहेका मासु पसलहरु, धम्बोझी चोक लगायतका स्थानका पसलहरुमा अहिले नेपाली कुखुरा खपत नै नभइरहेको पाइएको छ । ‘मैले एउटा पसलेलाई कुखुरा कतिमा खरिद गरिरहेका छौं भनेर सोधे ।

उनले नेपाली कुखुराको अहिलेको रेट त थाहा छैन भनेर उत्तर दिए । यसैबाट थाहा हुन्छ कि व्यापारीहरुले कहाँको कुखुरा उपभोक्तालाई खुवाइरहेका छन्,’ सुवेदीले मिसन टुडेसँग भने । नेपालमा पंक्षी र पंक्षीजन्य पदार्थ आयातमा प्रतिबन्ध छ । वर्ड फ्लुका कारण सरकारले २०६२ सालदेखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएको थियो ।

भारतीय कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रने खतरा हुने र नेपालमै मागलाई धान्नेगरी पंक्षीजन्य उत्पादन भइरहेकोले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाएपनि अझै लुकीछिपी कुखुरा भारतबाट तस्करी भइरहेको छ । कुखुरा व्यवसायीहरु लुकीछिपी भन्दा पनि सुरक्षा निकायको मिलोमतोमै कुखुराहरु भारतबाट भित्रिरहेको दाबी गर्छन् ।

‘यदि प्रहरीले कडाई गर्ने हो भने कुखुरा जस्तो चिज भित्रनै सक्दैन नि । यो लुकाएर आयात गर्न सकिने चिजै होइन,’ कुखुरा व्यवसायी संघका कार्यवाहक अध्यक्ष सुवेदी भन्छन् । कतिपय अवस्थामा खुला सीमाका कारण कुखुराको तस्करी रोक्न गाह्रो भएपनि अधिकांश तस्करी सुरक्षा निकायको सक्रियतामा रोक्न सकिने उनको दाबी छ ।

केही वर्ष पहिले दैनिकरुपमा प्रहरीले कुखुरा तस्करहरुलाई पक्राउ गरेर आफ्नो फेसबुक पेजमार्फत जानकारी गराउने गरेको थियो । पछिल्ला केही महिनायता प्रहरीले जानकारी दिएको देख्न पाइएको छैन । जमुनाह नाकामै रहेको पशु क्यारेन्टाइन कार्यालयले पनि पछिल्लो समय अवैध आयात गरिएका भनेर प्रहरीले कुखुराहरु ल्याउने क्रम कम भएको जनाएको छ ।

क्वारेन्टाइनले वैधानिक रुपले आयात हुन लागेका पशु र पंक्षीजन्य वस्तुहरुको चेकजाँच गरी भन्सारलाई सिफारिस गर्ने गरेको छ भने आयात गर्न नमिल्ने वस्तुहरुलाई नष्ट गर्ने गर्दछ । साथै प्रहरीले पक्राउ गरी ल्याएका अवैध पशु तथा पंक्षीजन्य सामग्रीहरु पनि नष्ट गर्ने गर्दछ । क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार असार महिनामा जम्मा ८० वटा कुखुरा र मासु एक सय ५० किलो मासु नष्ट गरिएको छ ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा सबैभन्दा बढी कुखुराहरु समातिएको साउन, भदौ र माघ महिनामा हो । गत साउन महिनामा एक सय २५ केजी कुखुराको मासु, चार हजार तीन सय ९८ वटा चल्ला र दुई सय ४४ वटा कुखरा बरामद गरिएको थियो भने भदौमा चार हजार तीन सय ९३ चल्ला, ३३ केजी मासु र २६ वटा कुखुरा बरामद गरिएको थियो ।

गत आर्थिक वर्षको असोजदेखि पुससम्म एउटा पनि कुखुरा बरामद भएन । तर कुखुरा व्यवसायीहरु कुनै पनि महिनामा भारतबाट कुखुराको तस्करी नरोकिएको बताउँछन् । माघ महिनामा पाँच सय १९ वटा कुखुरा र एक सय ६० केजी कुखुराको मासु बरामद गरी नष्ट गरिएको
थियो । फागुनमा ६१ वटा कुखुरा, ६ सय केजी मासु, र दुई सय ८० हाँस बरामद गरी नष्ट गरिएको थियो ।

चैतमा दुई सय ५० कुखुरा, वैशाखमा एक सय ११, जेठमा एक सय १५ वटा कुखुरा बरामद गरी नष्ट गरिएको थियो । यसरी अवैध रुपले कुखुरालगायत सबै किसिमका अवैध वस्तुहरु आयात गर्नेहरुबाट क्वारेन्टाइन कार्यालयले ६ लाख ३६ हजार जरिवाना असुल गरेको क्वारेन्टाइनका प्राविधिक इन्दू रेग्मीले जानकारी दिइन् ।

क्वारेन्टाइनको तथ्यांकले एकातिर कुखुराको अवैध तस्करी गर्नेहरु पक्राउ पर्ने क्रम कम भएको देखाउँछ । अर्काेतिर कुखुरा व्यवसायीहरु यहीबेला आफ्ना उत्पादनहरु बिक्री हुन छाडेको र त्यसको पछाडि अवैध तस्करी नरोकिनु कारण रहेको बताइरहेका छन् । तर प्रहरी र प्रशासन भने तस्करहरुलाई नियन्त्रण नगरिएको मान्न तयार छैनन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी विभिन्न ठाउँमा प्रहरीहरु परिचालन गरेर तस्करीलाई कडाइपूर्वक रोक्न निर्देशन दिइएको बताउँछन् । व्यवसायीहरुले अवैध आयात भएको र हुने ठाउँहरुबारे जानकारी दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले अवैध आयातलाई प्रश्रय दिने कुरै आउँदैन ।

व्यवसायीहरुले भन्नुहुन्छ भने उहाँहरुको गाडीमा बसेर हामी अनुगमनमा निस्कन तयार छौँ । हामी तस्करीलाई रोक्न प्रतिबद्ध छौँ,’ अधिकारीले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि तस्करी नियन्त्रणका लागि कुनै चुक हुन नदिन निर्देशन दिइएको बताउँदै अब संयुक्तरुपमा अनुगमन गर्न लगाइने बताए ।

व्यवसायी प्रशासनसँग आक्रोशित

भारतबाट अवैध कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्री व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । नेपालगन्जमा भेला भएका उनीहरुले प्रशासनले अवैध आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

भारतबाट पंक्षीजन्य वस्तुहरु आयात गर्न प्रतिबन्ध लगाइएको भएपनि बाँकेमा अवैधरुपमा कुखुराहरु तस्करी भइरहेको र त्यसमा प्रहरी मुकदर्शक बनेको उनीहरुको आरोप छ । दाना उद्योगी सूर्यबहादुर थापाले भने ‘प्रशासनले आफ्नो जिम्मेवारी पूरा नगर्नु अकर्मण्यता हो । सरकारले आयातमा प्रतिबन्ध लगाएको वस्तु खुलेआम आयात गर्न दिने अनि यहाँका व्यवसायीहरु मर्कामा पार्ने ? हामीले व्यवसाय गर्ने कि तस्करी रोक्न जाने ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा सहभागी एक कुखुरा पालक किसानले भारतबाट तस्करहरुलाई समात्न आफूले सुरक्षाकर्मीलाई पैसा दिएर फकाउन खोज्दा पनि काम नगरिदिएको गुनासो सुनाए । उनीहरुले तत्कालै तस्करी रोक्न परिणाममुखि कदम चाल्न प्रशासनसँग माग गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्च बाँकेले संयोजन गरेको छलफलमा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी मानन्धर लगायत पोल्ट्री व्यवसायी, ह्याचरी व्यवसायी, कुखुरा उत्पादक किसान, मासु व्यवसायी, दाना उद्योगी लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

छलफलपछि व्यवसायीहरुले व्यवसायिक हितमा काम गर्ने उद्देश्यले धर्मराज पोखरेलको संयोजकत्वमा कुखुरा व्यवसायी मञ्च गठन पनि गरेका छन् । मञ्चले हाल भइरहेको तस्करी रोक्न तत्कालै दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

घटेन कुखुराको मासुको मूल्य 

एकातिर किसानहरुले भारतीय कुखुराका कारण आफ्ना कुखुरा बिक्री नभइरहेको दुःखेसो गरिरहेका छन् भने अर्काेतिर मासु व्यापारीहरु कुखुरा नपाइएको बाहनामा महँगोेमा मासु बेचिरहेका छन् । बाँकेमा कुखुराको मासु बेच्ने व्यापारीहरुले अहिले पनि चार सय ४० रुपैयाँ प्रति केजि मूल्यसम्ममा मासु बेचिरहेका छन् ।

तर उनीहरुले किसानसँग प्रतिकेजी बढीमा दुई सय ५० रुपैयाँमा जिउँदो कुखुरा किनिरहेको किसानहरु बताउँछन् । भारतीय कुखुराहरु त झन् एक सय १२ रुपैयाँमा मासु व्यापारीहरुले पाइरहेका किसानहरुको दाबी छ । केही महिनाअघि तीन सय ५० रुपैयाँ जिउँदो कुखुराको मूल्य हुँदा बढाइएको मासुको मूल्य अहिले जिउँदो कुखुराको मूल्य घट्दा पनि नघटाइएको कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष सुवेदीले बताए ।

यसले एकातिर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ भने अर्काेतिर नेपाली पोल्ट्री सम्बद्ध व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेका छन् । उपभोक्ता हित संरक्षण समिति लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात ठकुरीले यस विषयमा आफूले पनि चासो राख्दा व्यापारीहरुले कुखुरा नपाइएर महँगोे भएको उत्तर दिएको बताए ।

पछिल्लो समय यस सम्बन्धमा बजार अनुगमन पनि भएको छैन । नियमन गर्ने निकाय मौन बस्दा उपभोक्ताले भारतीय कुखुराको मासु खान बाध्य भइरहेका छन् भने अर्काेतिर मूल्य पनि महँगोे तिर्नु परिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रबार