ढकेरीमा बाढीले खेतीयोग्य जमिन कटान



कविन्द्र परियार । कोहलपुर।

बुधबार बिहानैदेखि परेको अविरल वर्षाले राप्तीसोनारीमा खेतीयोग्य जमिन कटान गरेको छ । वर्षाका कारण वडा नम्बर– ९ मा रहेका दुईवटा नालाले जमिन कटान गरेको हो ।

चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि धान लगाएको खेतीयोग्य जमिन कटान हुँदा किसान पिडित भएका हुन् । खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्तानालाले खेतीयोग्य जमिन कटान गर्दा किसानले लगाएको धानबालीमा समेत क्षति पुगेको हो । उक्त क्षेत्रमा नालाबाट आएका बाढीका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।

स्थानीय प्रेमबहादुर ओलीले दुःख गरेर भर्खरै रोपेको धान उम्रिन नपाउँदै बाढीले बगाएको बताउँछन् । रोपाइँ गरी सकेको खेतमा नालाले कटान गरेका कारण आफ्नो परिश्रम खेल गरेको उनले बताए । राप्तीसोनारी–९ कै रामबहादुर ओलीकाअनुसार चुकेनालाले एकसाता अघि रोपिसकेको ३ कट्टा खेत कटान गरेको छ । ‘रोपेको धान सबै नास भयो । खेत समेत कटान भयो ।

सम्पत्तिको नाममा त्यही थियो ।’ उनले भने । प्रत्येक वर्ष खेत कटानको समस्या भोग्दै आएका उनले अहिलेसम्म ७ कट्टा जमिन कटान गरिसकेको बताए । स्थानीय सरकार र वडाले समेत रोकथामका लागि कुनै पहल नगर्दा आफूहरुले बारम्बार पानी परेको बेला दुःख पाइरहेको उनको दुःखेसो पोखे । त्यस्तै भक्तानालाले ढकेरीका घनबहादुर ओलीको ४ कट्टा खेती बगरमा परिणत गरिदिएको छ ।

भक्तानालाबाट आउने पानी सिक्टा सिँचाइको नहरमा मिसिन आयोजनाले पानी जाने स्थान साँघुरो बनाइदिएपछि पानी डाइभर्ट भएर खेत कटान भएको ओलीले बताए । ‘हामीले वर्षोदेखि बालीनाली लगाउँदै आएका छौं । खेती नालाले बगर बनाइदिएपछि पिडित छौं ।’, ओलीले भने । उनको खेतसँगै रहेको वीरबहादुर डाँगीको करिब ६ कट्टा खेतपनि बगर बनेको छ ।

भक्तानालाका कारण ढकेरीको १२ विगाहा टोल तथा पेट्रोल पम्प बजार डुबान हुँदै आइरहेका छन् । यी दुई नालाका कारण ढकेरी क्षेत्रका विभिन्न स्थानहरुमा सडक समेत कटान हुँदै आएका हुन् । विभिन्न भौतिक संरचनामा समेत क्षेति हुदैँ आएका छन् ।

उनीहरुको मात्रै होइन नालाले स्थानीय मोहनलाल थारु, मोतीलाल डाँगी, कासीराम सुवेदी लगायत दर्जन बढी किसानको खेत कटान गरेको छ । नाला डाईभर्सन गर्न पटकपटक स्थानीयबाट कुरा उठ्ने गरेपनि माग सुनुवाइ हुन सकेको छैन । राज्यले आफूहरुका माग सम्बोधन नगरेको स्थानीयको गूनासो छ ।

२०७८ साउनमा हाल नेपाल सरकारका युवा तथा खेलकूद मन्त्री रहेका महेश्वर गहतराज ‘अथक’ बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ लगायतको टिमले चुकेनालको अवस्थाबारे स्थलगत् अनुगमन गरी डाईभर्सनका लागि पहल गर्ने आश्वासन दिएका थिए । तर, हालसम्म नाला डाईभर्सन गर्ने बारे कुनै प्रक्रिया नै सुरु भएको छैन ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ९ का वडाध्यक्ष सोहनलाल थारुले चुकेनाला र भक्ताखोलाको कटानबाट खेती योग्य जमिन कटान भइरहेको हुदाँ दुवै नाला डाईभर्सनका र तटबन्धका लागि शहरी विकास मन्त्रालय काठमाण्डौंलाई योजना माग गरी पठाइएको जानकारी
दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ५ गते बिहीबार