वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नेपालगन्जलाई पाँच वर्षभित्र डुबानमुक्त क्षेत्र घोषणा गर्ने भनिएको थियो ।
उपमहानगरका निवर्तमान मेयर डा. धवलशमशेर राणाले त्यसको करिब चार वर्षपछि नै नेपालगन्जमा अब डुबानको समस्या सकियो भनेर पत्रकार सम्मेलन गरेर नै उद्घोष गरे । तर, उनको त्यो उद्घोष कति तथ्यहीन दाबी थियो भन्ने हरेक वर्षायाममा नेपालगन्जमा हुने डुबानले देखाइरहेको छ ।
उपमहानगरपालिकाको वर्तमान नेतृत्वले पनि डुबानको दीर्घकालिन समाधान खोज्ने विषय नीति तथा कार्यक्रममा समावेश गरेको छैन । यद्धपि मेयर प्रशान्त विष्टले आफ्नो कार्यकाल सम्हालेको पहिलो दिन ‘डुबान हुन नदिन वर्षाअघि नै नालाहरु सफा गर्ने’ निर्णय गरेका थिए । उक्त निर्णयलाई कार्यान्वयन भइरहेको देखाउन मेयर आफै फिल्डमा खटिएर नालाहरु सफा गराए । तर, त्यति गर्दा पनि नाला सफाईको काम कति फितलो भएको छ भन्ने बुधबार प्रमाणित भयो ।
नेपालगन्जमा बुधबार बिहान करिब एक घण्टा परेको पानीले मुख्य बजार क्षेत्र जलमग्न भयो । नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमै पानी भरियो । धम्बोझी चोकमा पनि पानी भरिएर सडकमै बग्न थाल्यो । सडकबाट नालामा पानी खस्न पर्याप्त निकासको व्यवस्था नहुँदा सडकमै पानी बगिरहको देख्न सकिन्थ्यो । घरबारी टोलमा त पसलहरु भित्रै पानी पसेपछि एकाबिहानै व्यापारीहरु बाल्टिनले पानी बाहिर फालिरहेका भिए । अधिकांश पसलहरुभित्र पानी पसेको थियो ।
स्थानीय व्यापारीहरु घरबारीटोलको नाला समयमा सफा नगरिँदा समस्या आएको बताइरहेका थिए । उनीहरुले ठाउँ–ठाउँमा पानीको निकासका लागि ढक्कन खोलेर हेर्दा प्लाष्टिकले थुनिएको भेटिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले घरबारी टोलका पचास प्रतिशत पसलमा पानी पसेको पाइएको बताए । पसलमा पानी पसेर कपडाहरु भिजेका छन् । कतिपय पसलहरु सडकको उचाइभन्दा कम गहिराईमा छन् । त्यस्ता पसलमा डुबानले बढी क्षति हुन पुगेको छ ।
यसैगरी न्यूरोड क्षेत्र पनि डुबानमा प¥यो । जुन क्षेत्रमा पनि यसवर्ष नाला नै सफा गरिएको थिएन । न्यूरोडको नाला निर्माण गर्दा नै गल्ती गरिएको थियो । त्यस सडकमा सफा गर्न सजिलो हुने ढक्कन नै राखिएको छैन । स्थानीय व्यापारीहरुले नाला सफा नगरिँदा नै डुबानको समस्या निम्तिएको बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृृष्णप्रसाद श्रेष्ठ न्यूरोडमा डुबान हुनुका पछाडि नाला सफा नहुनु र गुम्बाअघिबाट बग्ने नाला निर्माण कार्य अधुरो हुनु मुख्य कारण रहेको बताउँछन् ।
यसका साथै सुर्खेत रोड कर्णाली विकास बैंक अघि रहेको पुलमा पनि अवरोध भएर पानीको पर्याप्त निकास भइरहेको थिएन । उक्त ठाउँमा निकास थुनिँदा नेपालगन्जको अधिकांश क्षेत्रमा डुबानको समस्या निम्तने गरेको छ । सडक बिस्तारका क्रममा पहिले रहेको पुलमाथि नै ढलान गरिँदा त्यस ठाउँमा पानीको निकास साँघुरो बनेको हो । नेपालगन्जका नालाहरु निर्माण गरिँदा नालाहरुको ढाल नमिल्दा पनि पानीको निकास सहजै नहुने र ठूलो पानी पर्नेबित्तिकै डुबान हुने गरेको स्थानीयहरु बताउँछन् ।
नेपालगन्जको सुर्खेत रोडको मुख्य नालाहरुबाट भित्रपट्टिका सहायक नालाहरुमा पानी उल्टो दिशामा बग्दा बेलासपुर जाने बाटोमा भएको डुबानले पनि त्यसलाई प्रमाणित गर्छ । त्यस्ता ढल नमिलेका नालाहरुको सुधारतिर ध्यान नदिए वर्षेनी डुबानको समस्या निम्तिरहने स्थानीयहरु बताउँछन् । नेपालगन्जको अर्काे मुख्य समस्या हो, प्लाष्टिकको जभाभावी विसर्जन । नालाहरुमा निकास थुनिनुका पछाडि प्लाष्टिकले मुख्य भूमिका खेलिरहेका छन् ।
नीतिमा सीमित प्लाष्टिक मुक्त अभियान
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट प्लाष्टिक झोलामुक्त अभियान सुरु गरेको थियो । अभियानका लागि भन्दै विभिन्न स्थानमा सूचनामूलक बोर्डहरु राखियो । २०७६/०७७ को नीति तथा कार्यक्रममै प्लाष्टिक झोलामुक्त अभियानलाई उल्लेख गरियो । तर यो अभियान नीतिमै सीमित भएको छ ।
अहिले नेपालगन्जमा पानीको निकास थुन्न एक मुख्य बाधकको रुपमा प्याष्टिकजन्य पदार्थहरु छन् । त्यसमा ठूलो हिस्सा प्लाष्टिक झोलाहरुको छ । यस अभियानलाई दोस्रो कार्यकालका लागि निर्वाचित वर्तमान जनप्रतिनिधिहरुको चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा पनि समेटिएको छ । यस वर्षको नीति तथा कार्यक्रममा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोग क्रमिकरुपमा प्रतिस्थापन गर्दै लगिने भनिएको छ ।
व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सुर्ती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिने र यस्ता झोला उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइने भनिएको छ । यस्तै किसिमको योजना यसअघिका नीति तथा कार्यक्रममा पनि उल्लेख थिए । तर, त्यसको कार्यान्वयनको अवस्था के छ ? उपमहानगरपालिका जवाफदेही बन्नुपर्छ ।
अर्काे वर्षदेखि डुबानमा पर्दैनः उपमेयर राई
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राई अर्काे वर्षदेखि नेपालगन्जमा पानी जम्न नदिने गरी आफूहरु लागिपरेको बताउँछन् । बुधबार नेपालगन्जका धेरैजसो स्थानमा पानी जमेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका थिए ।
धेरैले उपमहानगरपालिकाको नेतृत्वसँग डुबान हुनुको जवाफ मागेका थिए भने कतिपयले स्थानीयवासीको लापरबाही पनि कारण रहेकोले सबैले आफ्ना कमजोरीहरु सुधार्नुपर्ने उल्लेख गरेका थिए । उपमेयर राईले भने, ‘मेयर ज्यू र म आफै बिहानैदेखि डुबान भएका ठाउँमा पानी निकासका लागि खटिएको कसैले सामाजिक सञ्जालमा लेखेन । हामीले काम गरिरहेका छौँ ।
विगतदेखि जमेको फोहोर सफा गर्न हामीलाई समय चाहिएको छ ।’ यसवर्ष पानी जम्नुका कारणहरु पत्ता लगाएर त्यसको समाधानका लागि काम गर्ने आफूहरुबीच सल्लाह भएको उपमेयर राईले मिसन टुडेलाई बताए । उनले विज्ञहरुको सल्लाहमा आवश्यक योजना बनाएर अर्काे वर्षदेखि पानी जम्न नदिनेगरी काम गर्ने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्