बाँके ।
जिल्ला अस्पताल बर्दियाका बिरामीले निःशुल्करुपमा रगत पाउन थालेका छन् । आइतबारबाट अस्पतालमा रहेका बिरामीहरुले निःशुल्करुपमा रगत पाउन थालेका हुन् । बिरामीका लागि चाहिने रगत निःशुल्क उपलब्ध हुन थालेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष पाण्डेले मिसन टुडेलाई जानकारी दिए ।
‘बिरामीले निःशुल्करुपमा रगत पाउनुपर्ने भए पनि पहिला यो सुविधा थिएन,’ उनले भने, ‘विभिन्न परीक्षणका नाममा बिरामीका आफन्तले केही रकम तिर्नुपर्ने अवस्था थियो । अब त्यो हटिसक्यो ।’ निःशुल्क रगत उपलब्ध गराउनका लागि बर्दिया जिल्ला अस्पतालले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सञ्चालन गरेको रक्त संकलन तथा भण्डारण केन्द्रबीच सम्झौता गरेको छ ।
सम्झौता भएसँगै अस्पतालका बिरामीहरुले रक्त संकलन तथा भण्डारण केन्द्रबाट निःशुल्करुपमा रगत पाउन थालेका हुन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम र रेडक्रसको तर्फबाट जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार रेडक्रसले अस्पतालमा रहेका बिरामीलाई आवश्यकताअनुसार रगत उपलब्ध गराउनेछ । अस्पतालमा भर्ना भएका बिरामीहरुले रगत लिनका लागि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसपत्र उपलब्ध गराउनु पर्नेछ । अस्पतालका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराएवापत अस्पतालले आवश्यक सम्पूर्ण सोधभर्ना महिनाको अन्तिममा गरिदिने सम्झौता भएको छ ।
लुम्बिनी प्रदेश निःशुल्क रक्त सञ्चार व्यवस्थापन कार्यविधि, २०७८ को दफा ४ को उपदफा (१) बमोजिम सम्झौता गरिएको अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले जानकारी दिए । ‘प्रदेशअन्तर्गतको अस्पताल भएकोले प्रदेशकै कार्यविधिअनुसार हामीले निःशुल्क रगतको लागि सम्झौता गरेका हौं,’ उनले भने, ‘साउन १ गतेबाटै अस्पतालका बिरामीले निःशुल्करुपमा रगत पाउन थालिसकेको अवस्था छ ।’
बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष पाण्डेले अस्पतालमा मासिक करिब २५ पोका रगत आवश्यक पर्ने बताए । ‘आमा सुरक्षा कार्यक्रम र सिकलसेलका बिरामीहरुका लागि पहिलेबाट नै रगत निःशुल्क नै उपलब्ध हुन्थ्यो,’ उनले भने, ‘अबदेखि सबैखालका बिरामीलाई रगत आवश्यक परे रगत निःशुल्क उपलब्ध हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्