मुक्त कमैया भन्छन्ः ‘जग्गाको पूर्ण स्वामित्व चाहियो’



कोहलपुर ।

बाँकेका मुक्त कमैयाले जग्गामा पूर्ण स्वामित्वको माग गरेका छन् । सरकारले कमैया मुक्ति गर्दा दिएको जग्गा प्रयोगविहीन भएको भन्दै पूर्ण स्वामित्वको माग गरेका हुन् । २२औँ कमैया मुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका–११ लोकनगरमा बसोबास गर्दै आएका मुक्त कमैया गुरिलाल चौधरीले सरकारले अहिले पनि नागरिकको रुपमा स्वीकार नगरेको बताए ।

उनका अनुसार कमैया मुक्तिको दुई दशक बितिसक्दा समेत मुक्त कमैयाहरुलाई हेपिरहेको छ । ‘१० धुर जग्गा दिएको छ । न बेच्न पाइन्छ, न सरकारले फुकुवा गरिदिन्छ,’ उनले भने, ‘हामीलाई जग्गाको पूर्ण स्वामित्व चाहिन्छ । बल्ल हामी न्याय पाएको महसुस गर्नेछुँ ।’

उनले पूर्ण कमैया मुक्तिको लागि अझै आन्दोलन गर्नुपर्ने अवस्था आएको पनि बताए । कमैयाको एकता नै रहेको आवश्यकता रहेको उनको भनाइ छ । मुक्त कमैया समाज बाँकेकी उपाध्यक्षसमेत रहेकी चमेली थारुले सरकारले मुक्त घोषणा गर्नु खुसीको कुरा भए पनि अझै पुनस्र्थापना हुन नसक्नु दुःखको कुरा भएको बताइन् ।

लामो समयदेखि जग्गामा पूर्ण स्वामित्व र व्यवस्थित पुनस्र्थापना र बालबालिकालाई निःशुल्क शिक्षाको माग गर्दै आएको भए पनि सुनुवाइ हुन नसकेको गुनासो गरिन् । उनी भन्छन्, ‘सरकारले जग्गा व्यवस्थापनको नाममा दिएको जग्गाले भोको पेट भरिँदैन । जग्गासमेत हामीले प्रयोग गर्न पाएका छैनौँ । जग्गा छ, लालपूर्जा छैन, त्यो हामीले के गर्ने ?’

आफूहरु अहिले पनि समाजको दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्नु परेको भन्दै सरकारले छिट्टै उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् । यस्तै अर्का मुक्त कमैया मणिराम रिमालले सरकारले आफूहरुलाई विकासमा समेत विभेद गरिरहेको बताए ।

उनका अनुसार कोहलपुरको राजधानी वडामै पनि अन्य समुदाय र लोकनगरमा रहेको मुक्त कमैया क्षेत्रमा समेत विकासमा विभेद गरिएको छ । उनले भने, ‘सरकारी जग्गा छ । बेच्न मिल्दैन, बैंकमा राख्नसमेत मिल्दैन । फुकुवा गरिदिनुप¥यो ।’

सरकारले कमैया मुक्ति घोषणा गरेदेखि नै भोकचलन गर्दै आएका जग्गामा बस्नसमेत समस्या रहेको उनले बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विकले मुक्त कमैयाका सवालमा राज्य प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

उनका अनुसार अहिले पनि मुक्त कमैयाका समस्या अनेक छन् । ती समस्या समाधानका लागि राज्यले मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णय छिट्टै गर्नुपर्छ । कोहलपुर नगरपालिका मुक्त कमैयाका समस्या समाधानका लागि तयार रहेको उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले सरकार र मुक्त कमैयाबीच भएका सहमति अहिले पनि कागजमै सीमित हुनु दुःखद् कुरा हो । उनले आफ्नो हक र अधिकारका लागि सबै मुक्त कमैया एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।

सहमति र सहकार्यका आधारमा जस्ता सुकै जटिल समस्या पनि समाधान हुने उनले बताइन् । नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्नसमेत आफू तयार रहेको उनको भनाइ थियो । जिल्ला मुक्त कमैया समाज बाँकेका जोखन थारूले पूर्ण कमैया मुक्ति अहिलेको आवश्यकता भएको बताएका थिए ।

‘सम्पूर्ण मुक्त कमैयाहरु एकताबद्ध हौं । व्यवस्थित पुनस्र्थापनाका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ कोहलपुरमा मनाइएको २२औँं कमैया मुक्ति दिवसको अवसरमा कोहलपुरमा औपचारिक कार्यक्रम आयोजना गरेर मनाइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार