कोहलपुर ।
साढे दुई वर्षमा कोहलपुर नगरपालिकाको छुट्टै प्रशासकीय भवन बन्ने भएको छ । अत्याधुनिक प्रशासकीय भवनको शुक्रबार शिलान्यास गरिएको हो । धार्मिक विधिअनुसार नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।
नगर कार्यपालिकाको नयाँ अत्याधुनिक भवन नगर विकास समितिको उत्तरतर्फको जग्गामा निर्माण हुनेछ । प्रशासकीय भवन निर्माणको कूल लागत १५ करोड ३८ लाख रुपैयाँ लागत रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
भवन निर्माण पूर्वका गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा भएपछि शिलान्यास गरिएको उनले बताए । नयाँ प्रशासकीय भवन साढे पाँच तलाको हुने छ । भवनमा लिफ्टसमेत जडान गरिने नगरपालिकाले जनाएको छ ।
नयाँ निर्माण भवन भएपछि नगरवासीले सहजरुपमा सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । ‘भवन शिलान्यास भएको छ । अब छिट्टै निर्माण कार्य प्रारम्भ हुनेछ । यो नगरको गौरवको आयोजना हो,’ उनले भने । भवन निर्माणमा स्थानीय पूर्वाधार विकास विभागको ६ करोड अनुदान र नगरपालिकाको नौ करोड लगानी गरेका छन् ।
‘भवन अभावका कारण अहिले दैनिक प्रशासनिक काम कारबाही गर्न कठिन भइरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको हो,’ नगर प्रमुख आचार्यले भने, ‘अत्याधुनिक भवन बनेपछि नगरपालिकाका सबै शाखाको कार्य यहीबाट सुरु हुन्छन् ।’
नयाँ प्रशासनिक भवन निर्माण कार्य समयमै सम्पन्न हुने उनले दाबी गरे । नगर उपप्रमुख सुवेदीले भवन पूर्णरुपमा महिला तथा अपांगमैत्री र भूकम्परहित निर्माण हुने बताइन् ।
कोहलपुरमा निर्माण हुने हरेक संरचना गुणस्तरीय हुने उनको दाबी छ । भवन निर्माणको ठेक्का एसोसिएट रञ्जितकार जया भवानी जेभीले पाएको छ ।









प्रतिक्रिया दिनुहोस्