मिसन संवाददाता
कोहलपुर,डिभिजन वन कार्यालय बाँकेले निःशुल्क बिरुवा वितरणको काम सुरु गरेको छ । सोमबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले बिरुवा वितरणको शुभारम्भ गरे । वन कार्यालयले सागवान, मसाला, बकाइनो, निम, जामुन, सितलचिनी, इपिल इपिल लगायत प्रजातीका विरुवा वितरण गर्ने डिभिजन वन कार्यालय बाँकेका रमेश बुढाथोकीले जानकारी दिए । सर्वसाधारणलाई एक लाख ४५ हजार विरुवा वितरण गर्ने कार्यालयको योजना छ । ईच्छुकहरुले वन कार्यालयमा सम्पर्क राख्न सक्नेछन् । यस्तै मातहतमा डिभिजन कार्यालयहरुबाट समेत एकैसाथ बिरुवा वितरण सुरु गरिएको छ ।

बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका कार्यक्षेत्र रहेको कोहलपुरस्थित कोहलपुर सव डिभिजन वन कार्यालयले पनि बिरुवा वितरण कार्य सुरु गरेको छ । कार्यालय उत्पादन गरेका बिरुवा सेवा क्षेत्रका नागरिकहरुका लागि निःशुल्क वितरण सुरु गरेको हो । लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका बिरुवाहरु निःशुल्क उपलब्ध गराइने रेन्जर मानबहादुर थापाा बताउँछन् ।
निःशुल्क बिरुवा वितरण गरिने भएकोले लैजान सव डिभिजन वन कार्यालय कोहलपुरले यसअघि विज्ञप्ति नै जारी गरेर आग्रह गरेको थियो । उनले बिरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुलाई सजिलै लैजान सक्ने व्यवस्था गरिएको बताए । कार्यालयबाट विरुवाहरु सहजै लैजान सक्ने गरि व्यवस्था गरेको छ । कार्यालयले निःशुल्क वितरण गरेको विरुवा व्यक्तिले बढीमा २५ वटा सम्म लिन सक्ने उनले बताए । संस्थागत र बृहत रुपमा बृक्षारोपणका लागि लालपुर्जाको फोटोकपी आवश्यक पर्ने उनको भनाइ थियो । रेन्जर थापा आफैले ६४ हजार विरुवा उत्पादन गरेका थिए भने, सहायक वन अधिकृत राजबहादुर चौधरीले ४५ हजार बिरुवा उत्पादन गरेका थिए ।

विगत तीन वर्षयता कोहलपुर सव डिभिजन वन कार्यालयले २० हजार भन्दा बढी विरुता उत्पादन गरेको छ । आ.व. २०७७÷०७८ को बहुवर्षीय कार्यक्रम अनुसार २० हजार विरुवा उत्पादन गरिएको उनको भनाइ छ । कार्यालयका उत्पादन गरेका विरुवाका प्रजाति मात्रै १५ वटा रहेका छन् । ती मध्ये सागवन २ हजार ७ सय ५४, कागती ८ सय, रक्तचन्दन २५९,कपुर ४३२ र धुपीका ३ हजार विरुवा उत्पादन गरिएको उनले बताए । रेन्जर थापाका अनुसार राजवृक्ष १ हजार २ सय २७, कदम २२७०, गुलगोर १ हजार ५ सय २०, छचिवान २ हजार ८ सय ७२ र कल्ली फूल १ हजार वटा उत्पादन गरिएको थियो । यस्तै सिसौ २ हजार ३ सय २०, अमला ५८५, रिठ्ठा ६३०,सिरिस ४१६ वटा विरुवा उत्पादन भएको उनको भनाइ थियो । आ.व. २०७८÷०७९ मा मात्रै अमला र निमसहित कूल २२ हजार १ सय विरुवा उत्पादन गरिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्