कोहलपुर ।
दैनिक जनचासोका विषयमा स्थानीय सरकारले ध्यान दिन नसकेको यहाँका नागरिकले गुनासो गरेका छन् । चुनावमार्फत जनताको भोट प्राप्त गरेर जितेका जनप्रतिनिधिले नेतृत्वमा पुगेपछि जनताका समस्या समाधान गर्न चासो नदिएको उनीहरुले गुनासो गरेका हुन् ।
बिहीबार कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाका विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा कोहलपुरका विभिन्न वडाका स्थानीयले स्थानीयस्तरमा रहेका समस्या अहिले पनि उस्तै रहेको बताए । उक्त अवसरमा बोल्दै एकतानगरकी मना खड्काले आफ्नो टोलमा लामो समयदेखि ढल निकास नहुँदा समस्या भोग्नु परेको बताइन् ।
ढल निकास गरेर उचित व्यवस्थापन गर्न माग गर्दा पनि सुनुवाइ नभएको उनी बताउँछिन् । ‘वर्षामा हामीले जुत्ताचप्पल लगाउनै पर्दैन । गन्हाउने र संक्रमणको उच्च जोखिम छ,’ उनले भनिन्, ‘वडा र नगरले कहिल्यै चासो दिएनन् ।’
वडा नम्बर ११ प्रेमनगरकी श्यामकली थारुले भनिन्, ‘हाम्रो टोलमा खानेपानीको चरम अभाव छ । धारा छ, पानी आउँदैन । हाम्रो समस्या वडाले सुन्दैन । छिमेकीले पानी दिँदैनन् । हामी कसरी बाँच्ने होला । जवाफ चाहियो ।’ सामाजिक अभियान्तासमेत रहेकी उर्मिला पाण्डेले साक्षर नगरमा अहिले पनि धेरै महिला निरक्षर रहेको बताइन् ।
उनका अनुसार अहिले पनि कोहलपुरका बहुसंख्यक महिला आफ्नो नाम लेख्न सक्दैनन् । नयाँ सरकारले प्रोढ शिक्षालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने माग गरिन् । स्थानीय जीवराज न्यौपानेले आफ्नो टोलमा गरिएको कालोपत्रे केही दिनमै उप्किएको तर, ठेकेदारले भुक्तानी पाएको विषयमा नगरपालिकाको ध्यानाकर्षण गराए । उनले नगरपालिकाले आगामी दिनमा पूर्वाधार निर्माण गर्दा गुणस्तरीय काम गर्न र राम्रो काम नगर्नेलाई कारबाही गर्न सुझाव दिए ।
वडा नम्बर ५ की स्थानीय दीपिका रोकायले वडास्तरमा फोहोरमैला व्यवस्थापन हुन नसकेको बताइन् । उनका अनुसार कोहलपुर नगरपालिका खुल्ला दिसामुक्त घोषणा भए पनि अहिले पनि खुल्ला शौच गर्ने समस्या छ । यस्तै युवा खेमराज परियारले अहिले पनि दिशाजन्य फोहोर व्यवस्थापन गर्न स्थानीय सरकार उदासिन रहेको प्रति नगरपालिका चनाखो हुन नसकेको बताए ।
स्थानीय प्रमोद रिजालले सार्वजनिक सुनुवाइ तोकिएको समयमा नभएको र जनप्रतिनिधि समयमै नआउँदा सहभागीले दुःख पाएको भन्दै आगामी दिनमा समयमै यस्ता कार्यक्रम सुरु गर्न सुझाव दिए । यस्तै कोहलपुरमा पानी वितरण गर्ने संस्था नै अवैधानिक रहेको भन्दै छिटो र नियमित पानी उपलब्ध गराउन नगरपालिकाले अग्रसरता दिनुपर्ने उनले बताए ।
जनता माविका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले दुई वर्षदेखि विद्यालय भवन बनाइदिन आग्रह गर्दा पनि माग पूरा नभएको गुनासो गरे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख जवाफदेही वक्ताका रुपमा रहेका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले आफूहरुले कार्यकाल सम्हालेको साढे एक महिना मात्रै भएको भन्दै अघिल्लो सरकारका कामलाई नै निरन्तरता दिइरहेको बताए । उनका अनुसार नयाँ नीति तथा कार्यक्रम र बजेट आएको छ । साउन महिनाबाट बजेट कार्यान्वयन सुरु हुने उनी बताउँछन् ।
आफूले जनताको समस्या समाधान गर्न जनताको पक्षमा काम गर्न हरसम्भव पहल गर्ने उनको भनाइ छ । ‘हामी अहिले पनि नयाँ छौँ । हिजो हामीले प्रश्न गर्यौँ । अहिले उत्तर दिने ठाउँमा आएका छौँ । त्यो सबै जनताका कारणले हो,’ उनले भने, ‘पाँच वर्ष जनताको सेवक हुँ । सकेजति सेवा गर्ने छुँ । मलाई जनताको साथ चाहिन्छ । तपार्इंहरुको समस्या समाधानका लागि म रक्तिभर पछि पर्ने छैन ।’
उपप्रमुख संगीता सुवेदीले महिलाहरुका सवालमा आफू गम्भीर रहेको बताइन् । प्रश्न सोध्ने क्रममा पहिला विषयमा धेरै सवाल उठेको भन्दै आफू कार्यान्वयन गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले पनि सेवा प्रवाहका विषयमा उठेका प्रश्नको जवाफ दिँदै जनतालाई सेवा लिँदा समस्या नहोस् भन्ने पक्षलाई ध्यान दिइएको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ वक्ताका रुपमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्य थिए ।









प्रतिक्रिया दिनुहोस्