बाँके ।
नेपालगन्ज भन्सार कार्यालय नजिकैबाट नियन्त्रणमा लिइएको अफिमको बियाँ (पोस्ता दाना) परीक्षणका लागि काठमाडौं पठाइएको छ । भारतीय कन्टेनरमा फल्स बटन बनाएर भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको पोस्ता दाना थप परीक्षणको लागि काठमाडौं पठाइएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले पोस्ता दानालाई थप परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए । ‘नेपालगन्जको प्रयोगशालाले अफिमको बियाँ उम्रिने वा नउम्रिने खालको भन्नेबारे पत्ता लगाउन सकिएन,’ उनले भने, ‘थप परीक्षणका लागि हामीले काठमाडौंको प्रगोगशालामा पठाएका छौं ।’
भारत फर्किँदै गरेको आरजे०९जीबी ४५४२ नम्बरको कन्टेनरलाई प्रहरीले असार १७ गते बिहान जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको थियो । पछि चेकजाँच गर्दा कन्टेनरमा फल्स बटन बनाएर भारत लैजाँदै गरेको अवस्थामा दुई सय ५० बोरा पोस्ता दाना बरामद भएको थियो ।
चालक र सहचालक भने जमुनाहा नाकाबाटै कन्टेनर छोडेर भागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भारतीय कन्टेनरका मालिक र चालकलाई पत्राचार गर्ने तयारी भइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत न्यौपानेले बताए ।
‘कन्टेनरका मालिक र चालकलाई हामीले उपस्थितिका लागि पत्राचार गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘मालिक र चालक उपस्थिति भए अनुसन्धानमा सहज हुन्थ्यो ।’ यसअघि २०७८ सालमा नेपालमा विदेशबाट आयात गरिएको पोस्ता दाना उम्रिने खालको आयात भएपछि वाणिज्य विभागले छानबिन गरेको थियो ।
विदेशबाट नेपालमा आयात गरिएको पोस्ता दाना नेपालबाट भने भारततर्फ तस्कर हुने गरेको छ । कन्टेनरबाट बरामद भएको पोस्ता दानासमेत सोही प्रयोजनअन्तर्गत नै भारतबाट लैंजान लागिएको बताइन्छ ।









प्रतिक्रिया दिनुहोस्