बाँके ।
बर्दियाको बाँसगढी नगरपालिकाको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ । बाँसगढी नगरपालिका–४ मा रहेको जनचेतना सामुदायिक वनमा एक महिलाको शव फेला परेको हो ।
अन्दाजी २४/२५ वर्षीया युवतीको शव फेला परेको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । शव कसको हो भनेर अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।
गाढा रातो रङको साधारण फिता भएको चप्पल, रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
घाँटीभन्दा माथि कुहिएको अवस्थामा फेला परेको शवलाई जिल्ला अस्पताल गुलरियामा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
‘घटनाबारे हामीले अनुसन्धान गरिरहेका छौं,’ एसपी शाहीले भने, ‘मृतक महिलाको पहिचान खुल्न नसक्दा समस्या भइरहेको छ । महिला हराएका भनिएका उजुरीहरुलाई हेरिरहेका छौं ।’









प्रतिक्रिया दिनुहोस्