कोहलपुरमा बालेन मोडेलः होटलमा निःशुल्क सार्वजनिक शौचालय



शौचालय त छैनन् तर अपर्याप्त र अपायक पर्ने ठाउँमा छन् । ति शौचालयमा सरसफाइ छ, न त सफा पानी छ । ढोकाको चुकुल छैन । सर्वत्र दिसापिसाबको दुर्गन्ध फैलिएको छ । केही ठाउँमा सार्वजनिक शौचालय भए पनि शुल्क तिर्नुपर्छ ।

ती पनि गतिला छैनन् । सार्वजनिक शौचालय नहुँदा सार्वजनिकरुपमा शौच गर्ने गरेका दृष्य देखेका व्यवसायी ठाकुरप्रसाद केसीले होटेलको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न सुरु गरेका छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

पहिलोपटक तराई झरेका कालीकोटस्थित जीतबहादुर न्यौपाने बसबाट कोहलपुर उत्रिए । बसबाट झर्नासाथ उनी शौच जान खोजे । उनी यताउता हेर्छन्, अनि कतै शौचालय देख्दैनन् ।

समयमै दिसापिसाब गर्न नसक्दा उनले जति कष्ठपूर्ण स्थिति सहनु प¥यो हुम्लाबाट कोहलपुर आएका कालीबहादुर शाहीले पनि उस्तै पीडा भोगे । पश्चिमको उदाउँदो सहर कोहलपुरको एउटा जटिल समस्या भनेकै सार्वजनिक शौचालयको अभाव हुनु हो ।

शौचालय त छैनन् तर अपर्याप्त र अपायक पर्ने ठाउँमा छन् । ति शौचालयमा सरसफाइ छ, न त सफा पानी छ । ढोकाको चुकुल छैन । सर्वत्र दिसापिसाबको दुर्गन्ध फैलिएको छ । केही ठाउँमा सार्वजनिक शौचालय भए पनि शुल्क तिर्नुपर्छ ।

ती पनि गतिला छैनन् । त्यसैले किनमेल वा काम विशेषले सहर परिक्रमा गर्नेहरुलाई दिसापिसाबको तनाव हुन्छ । तीन प्रदेशको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा रहेको कोहलपुरमा यात्रुले समेत यस्ता समस्या भोग्नु परिरहेको छ । कतिपय अवस्थामा खुल्ला शौच गरेका दृष्यसमेत देखिन्छन् ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि देशको राजधानी सहरमा सार्वजनिक शौचालय प्रयोगको नयाँ सुरुवात गरियो । काठमाडौंका प्रमुख बालेन शाहले महानगर क्षेत्रमा रहेका रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोगलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने अवधारणा अघि सारे । उनले पहिलो कार्यपालिका बैठकमै ती शौचालय निःशुल्क सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने निर्णय नै गराए ।

उनलाई काठमाडौंका व्यवसायीले साथ दिए, नयाँ र फरक किसिमको बालेन ‘मोडेल’ त्यहाँका व्यवसायीलाई मन प¥यो । अहिले काठमाडौंमा धमाधम रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग भइरहेका छन् ।

यो मोडेल काठमाडौं मात्रै होइन देशका अन्य क्षेत्रमा समेत सिको गर्न थालिएको छ । काठमाडौंबाट सुरु भएको बालेन मोडेल कोहलपुरमा समेत पुगेको छ । कोहलपुरका एक होटल व्यवसायीले आफ्नो शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न सुरु गरेका छन् ।

सार्वजनिक शौचालय नहुँदा सार्वजनिकरुपमा शौच गर्ने गरेका दृष्य देखेका व्यवसायी ठाकुरप्रसाद केसीले होटेलको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न सुरु गरेका छन् ।

उनले सडक क्षेत्रमा बोर्ड नै राखेर आफ्नो होटेलको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोगका लागि खुल्ला गरिएको उल्लेख गरेका छन् । उनले राखेको बोर्डमा लेखिएको छ, ‘स्वच्छ, सफा र व्यवस्थित कोहलपुर ।’ त्यसमा बालेन शाहको कालो चस्मा लगाएको र नेपालको झण्डा काँधमा राखेको फोटो अंकित छ । अन्त्यतिर लेखिएको छ, हाम्रो एक प्रयास ।

होटेल जिएफसी सञ्चालक केसी भन्छन्, ‘कोहलपुरमा यो नयाँ सुरुवात हो । बालेनलाई सम्मानसमेत हो । आफ्नोतर्फबाट समाजलाई केही न केही सेवा दिन सकिन्छ भन्ने उद्देश्य पनि हो ।’ उनले स्वतन्त्ररुपमा देशको राजधानी सहरको प्रमुखमा विजयी भएका बालेन शाहको भिजन र मिसन तथा कार्यशैलीप्रति प्रभावित भएर सार्वजनिक शौचालय सुरु गरेको समेत बताए ।

उनले आफूले कोहलपुरमा गरेको सुरुवात अन्य मानिस तथा व्यवसायीका लागि मोटिभेसनसमेत भएको बताए । उनका अनुसार आफूले केही नयाँ कुरा सुरुवात गरेमा अरुले समेत सुरु गर्ने ध्येयले पनि सार्वजनिक सुरुवात गरिएको हो ।

बालेन मोडेलको निरन्तरता हो
ठाकुरप्रसाद केसी
सञ्चालक, होटेल जिएफसी

यो सार्वजनिक शौचालय जेठ १ गतेबाट सुरुवात भएको हो । अहिले एउटा मात्रै शौचालय प्रयोगमा ल्याएका छौँ । केही शौचालय थप्ने योजना छ । सुरुवात गरेदेखि नै मानिस आइरहेका छन् । यो सडक क्षेत्र पनि भयो, त्यसैले यहाँ बिस्तारै मानिसहरु बढिरहेका छन् ।

दैनिकजसो १५–२० जनासम्म आउँछन् । बिहानको समयमा बढी मानिस आउने गरेका छन् । कर्णाली जाने गाडी हाम्रो नजिकै रोक्ने भएकोले समेत बिहानको समयमा अघि बढी नै चाप हुन्छ । यहाँ आउने मानिसहरुले राम्रै प्रतिक्रिया दिन्छन् । राम्रो गर्नुभएछ । यसलाई निरन्तरता दिनुहोला भन्छन् ।

यस्तो सुन्दा मैले केही राम्रो काम गरेको रहेछु भन्ने लाग्छ । यो कामका लागि म बालेन शाहप्रति प्रभावित भएर हो । मैले स्थानीय तहको निर्वाचनदेखि बालेन शाहलाई फलो गरिरहेको थिए । उनका हरेक कुरा राम्रा लाग्छन् । यो राम्रो कामको निरन्तरता हो । अर्कातिर गर्न चाहने मानिसहरुको मात्रै कमी हो । यो निःशुल्क सेवा हो । हामी बढीभन्दा बढीलाई सेवा दिन आतुर छौँ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार