बाँकेका राई बने भौतिक पूर्वाधार तथा यातायातमन्त्री



कोहलपुर ।

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद ईश्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जनता समाजवादी पार्टी (जसपा) का तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
बाँकेका राई भने तेस्रोपटक संघीयमन्त्रीमा नियुक्त भए । यसअघि उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलोपटक सहरी विकासमन्त्री भएका थिए । राई पहिलोपटक २०६८ वैशाख २३ गते श्रम तथा यातायातमन्त्री नियुक्त भएका थिए । पहिलोपटक मन्त्री हुँदा बहुदलीय व्यवस्थापछिका सबैभन्दा कम उमेरका क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाएका थिए, राईले ।

२०३६ सालमा जन्मिएका उनी पहिलोपटक मन्त्री हुँदा ३२ वर्षका मात्रै थिए । ३९ वर्षको उमेरमा उनी दोस्रोपटक मन्त्री भए भने तेस्रोपटक मन्त्री हुँदा राई हाल ४३ वर्षका छन् । उनी पहिलोपटक २०६४ सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ का सभासद निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा फोरम नेपालबाटै निर्वाचित भएर सहरी विकासमन्त्री भएका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री राई हाल जसपामा छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपाका नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषद्मा पठाउँदा बाँकेका राईसमेत समेटिएका हुन् ।

उनीसँगै जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । तेस्रोपटक मन्त्री नियुक्त भएका राई मन्त्रिपरिषद्मा मन्त्रीको १०औँ वरियता (स्थान) मा छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेको देउवा नेतृत्वको मन्त्री मण्डल तीन राज्यमन्त्रीसहित २४ सदस्यीय छ ।

को हुन् राई ?

मोहम्मद ईश्तियाक राईको जन्म २०३६ सालमा भएको हो । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । तर उनका बाबा राईलाई व्यवसायी बनून भन्ने चाहन्थे । पछि भने उनी चिकित्सक बन्ने सपना त्यागेर राजनीतिमा लागेका थिए । राईले २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीति सुरु गरे । उनी २०६२ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध भए ।

संघीय समाजवादी फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सभासद भए । पहिलोपटक २०६८ सालमा उनी श्रम तथा यातायातमन्त्री भए । जतिबेला उनी केबल ३२ वर्षका थिए । दोस्रोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दोस्रोपटक सहरी विकासमन्त्री भए ।

उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् । उनको शादाब एण्ड कम्पनीले नेपालमा अटो रिक्साको आयात गर्छ । उनी व्यवसायीसमेत हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार