चिसापानीको चेक प्वाइन्टबाट लागुऔषध अफिमसहित भागेका दुई पक्राउ



लागुऔषध अफिमसहित फरार रहेका दुईजनालाई पक्राउपछि सार्वजनिक गर्दै कोहलपुर प्रहरी

लागुऔषध अफिमसहित फरार रहेका दुईजनालाई पक्राउपछि सार्वजनिक गर्दै कोहलपुर प्रहरी

बाँके ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले करिब चार किलो लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । नलगाड नगरपालिका–३ जाजरकोटका २५ वर्षीय गोपाल रोकाय र लेखराज विष्टलाई अफिमसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तीन किलो आठ सय ग्राम लागुऔषध अफिम बरामद भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

आइतबार कोहलपुर–सुर्खेत सडकखण्डको चिसापानीमा चेकजाँच गर्न खोज्दा रोकाय बाँके निकुञ्जको जंगलतर्फ भागेका थिए ।

जंगलमा गस्ती गरिरहेको नेपाली सेना र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले टोलीले उनीलाई जंगलबाटै नियन्त्रणमा लिएको थियो । उनले बोकेको झोलाबाट तीन किलो आठ सय ग्राम लागुऔषध अफिम फेला परेको कोहलपुरमा डिएसपी मल्लले जानकारी दिए ।

‘चिसापानीको चेक प्वाइन्टबाट जंगलतर्फ शंकास्पद तरिकाले भागेपछि हामी खोजीमा जुटेका थियौं,’ उनले भने, ‘खोजी गर्दै जाँदा दुवैजनालाई फरकफरक स्थानबाट नियन्त्रणमा लिन सफल भयौं ।’ मोटरसाइकल चालकसमेत रहेका विष्टलाई भने दिउँसो कोहलपुर प्रहरीबाट खटिएको विशेष प्रहरी टोलीले चप्परगौडीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४(ङ), (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ । यो ऐनको दफा १४(६) ३ बमोजिम १५ वर्ष जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार