‘पत्रकारिताको गुणात्मक विकास आवश्यक’



कोहलपुर : पत्रकारिता पेसामा गुणात्मक विकास आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । पछिल्लो समय सञ्चार माध्यम संख्यात्मक रुपमा बढिरहेको भन्दै गुणात्मक विकास हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘नेपालमा पत्रकारिता विकास भएको १ शताब्दी बितिसक्यो । अहिले विभिन्न प्रविधिको विकाससँगै पत्रकारिता समेत बहु आयमिक भएको छ । पत्रकारिताको विकाससँगै विकृति समेत मौलाएको छ,’ उनीहरुको भनाइ छ । पेसालाई मर्यादित र सम्मानित बनाउने भूमिका पत्रकारहरु कै भएको उनीहरुले बताएका थिए । यस्तै पत्रकारहरुले सत्य र तथ्यमा आधारित भएर आफ्नो कर्म गर्नुपर्ने उनीहरुको सुझाव छ ।

आइतबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशद्धारा आयोजित मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पत्रकारिता शसक्त र स्वतन्त्र हुनेपर्ने बताएका थिए । पत्रकार नीति, विधि र विधानको अधिनमा रहेर निष्पक्ष रुपमा सूचना संवाहक बन्नुपर्ने उनको भनाइ छ । नगर प्रमुख आचार्यले पत्रकारितामा प्रतिस्रोत पूर्ण भावनाको हाबी हुनु बिडम्बना रहेको भन्दै यस्ता कुरामा सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

‘स्थानीय सरकारलाई सवल बनाउन, जनप्रतिनिधिलाई उत्तरदायी बनाउन मिडियाको भूमिका रहन्छ । हामीबीच सहकार्य समेत आवश्यक छ ।त्यसै बजार र पाठकहरुको मन जित्नेगरी टिक्ने र बिक्ने समाचारमा ध्यान दिन सबैलाई आग्रह गर्दछु ।’ उनले भने ।
कोहलपुर नगरपालिकाकी उप–प्रमुख संगीता सुवेदीले महिला पत्रकारकाको क्षमता अभिवृद्धिमा स्थानीय सरकार तयार रहेको बताइन् । मोफसलमा महिला पत्रकार नटिक्ने समस्या रहेको भन्दै यस्ता समस्या समाधानका लागि राज्य र सरोकारवाला निकायको भूमिका रहने बताइन् ।

नेपाली कांग्रेस बाँकेका उपसभापित कृष्ण कार्कीले समाजलाई सूचना प्रवाह गर्नुका साथै सन्देश दिएर हरेक कुरामा सुसूचित गर्ने कार्यमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार शाहका अनुसार पत्रकारितामा पेसामा गुणात्मकता र व्यवसायिकता अहिलेको आवश्यकता हो ।

उक्त अवसरमा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष शुक्रऋषि चौलागाईले प्रदेश महासंघ प्रदेशभरका १७ सय जना पत्रकारहरुको हकहितका लागि अनवरत रुपमा लागिपरेको बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा व्यवसायिकताका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले नेपालमा मिडिया र सूचना साक्षरता, संचार सम्बन्धि नीति तथा कानुन, नेपाली पत्रकारिताको अवस्था तथा मिडिया र सूचनामा साक्षरता किन ? भन्ने लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल, पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष करुणा शाह, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल लगायतले बोलेको अन्तरक्रियामा बाँके र बर्दियाका पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २० गते सोमबार