कविन्द्र परियार । कोहलपुर ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित सुर्योदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी अनुपविक्रम शाहको पहलमा विद्यालयलाई करिब १६ लाख बराबरको शैक्षिक तथा खेलकुद सामग्री हस्तारन्तरण गरिएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शाहले उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
शाहको पहलमा किन्डर हेल्फ नामक संस्थाको सहयोग सामग्री विद्यालय हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगीसरा बिक तथा विद्यालयका प्रधानाध्यापक दिनेश नेपालीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । शाहले डेस्कटप कम्प्यूटर तीन थान, ल्याप्टप दुई थान, प्रिन्टर एक थान, टिटी बोर्ड दुई सेट, टिटी ब्याट चार सेट, बास्केट बल दुई सेट, वाटर रिन्फाइन प्लान्ट (दुईवटा धारासहित) एकवटा र बास्केट बल पोल र कोर्ट निमार्ण गरी हस्तान्तरण गरिएको छ ।
त्यस्तै उनले एकजना शिक्षकलाई एक महिने एड्भान्स कम्प्यूटर तालिम तथा महिनाको दुई हजारका दरले १६ जना विद्यार्थीलाई छात्रवृतिको व्यवस्थासमेत गरेका छन् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमपछि आफ्ना भनाइ राख्दै शाहले आफूले उक्त विद्यालयमा अध्ययन गर्दा बोरामा बसेर अध्ययन गरेको स्मरण गर्दै त्योबेला कुनै शैक्षिक सामग्री नभएको अवस्था सम्झेर विद्यालयका लागि शैक्षिक सामग्री सहयोग गरेको बताए । ‘मैले आफूले अध्ययन गरेको विद्यालयमा केही गर्नुपर्छ भन्ने लागेर पहल गरेको हुँ,’ उनले भने, ‘सबै गर्दा करिब १६ लाख जति लाग्यो होला ।’
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले अनुपविक्रम शाहले आफूले पढेको विद्यालयमा सहयोग गरेकोमा धन्यवाद दिँदै आफू पनि उक्त विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले व्यक्तिगत वा पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रुपबहादुर मल्लले स्थानीय सरकारले नसकेको काम शाहले गरेको भन्दै प्रशंसा गरेका थिए ।
वडा नम्बर २ का वडाध्यक्ष राजु रुचालले शाहको पहलमा विद्यालयमा शैक्षिक सामग्री आउनु खुसीको कुरा भएको र युवा वर्गले आफ्नो क्षेत्रको विकासका लागि सोच्नुपर्ने बताए । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, समाजसेवी, विद्यार्थीलगायतको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्