शुभाकर विश्वकर्मा । कोहलपुर ।
बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको क्षतिपूर्ति बाँकेका किसानले अझै पाउन सकेका छैनन् । पालिकाले व्यवस्थित ढंगले तथ्यांक र अन्य विवरण जिल्ला विपद व्यवस्थापन समितिमा नपठाउँदा किसानले क्षतिपूर्ति पाउन नसकेका हुन् ।
बुधबार मनाइएको धान दिवसको समारोहमा किसानले अझै पनि धानबालीमा परेको क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । १९औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा कोहलपुरका किसान मोहन रिजालले बेमौसमी वर्षाका कारण किसानले ठूलो क्षति व्यहोरे पनि सरकारले राहत नदिएको गुनासो गरे ।
‘राज्यले धान रोप्नेबेला मल र विपदको क्षतिपूर्ति उपलब्ध गराउन नसकेको उनको दुःखेसो छ । यसअघि बाँकेका आठवटै पालिकामा भएको क्षतिको विवरण संकलन गरिएको थियो ।
गृह मन्त्रालयले मागेको विवरणमा बाँकेका आठवटै पालिकाले जिल्ला विपद व्यवस्थापन समितिमार्फत कूल ३८ लाख ७८ हजार ६ हजार ६ सय आठ रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । तर, गृह मन्त्रालयले बाँकेका किसानका लागि भनेर जम्मा १० करोड मात्रै पठाएको छ । त्यो पनि किसानले अझै पाउन नसकेका हुन् ।
किसानले खाता नम्बरसहित वितरण बुझाएको भए पनि क्षतिपूर्ति वितरणमा अझै ढिलाइ भएको छ । ‘पुनः धान रोपाइँ सुरु भएको छ,’ रिजालले भने, ‘पहिलाकै क्षति पाउन सकिएको छैन ।’ जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अनुसार बाँकेमा त्यतिबेला पाँच लाख १७ हजार ६ सय १४ कठ्ठा (क्षेत्रफल) मा क्षति भएको थियो । यस्तै जिल्लाभर कूल ३९ हजार चार सय ८२ घरधुरी प्रभावित भएका थिए ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले मागभन्दा थोरै राहत रकम आएको बताए । दुई महिना अघि नै राहत निर्धारण समितिले कूल प्राप्त क्षर्तिपूर्ति रकममा आंशिक क्षतिको आधारमा पहिलो किस्तामा ३६ प्रतिशत क्षतिपूर्ति दिने निर्णय भएको थियो । तर उक्त निर्णय अझै कार्यान्वयनमा आउन नसकेको छैन ।
गृह मन्त्रालयले राहत रकम पठाएपछि जिल्लाभरि सबै पालिकालाई पहिला खाता नम्बरसहितको जम्मा क्षतिको विवरण मागिएको थियो । ‘धानबालीमा भएको क्षतिपूर्ति वितरणको काम डुडुवाबाट सुरु गरेका थियौं,’ उनले भने, ‘तर पालिकाले पठाएको चेक मिलेन । बैंकले सबै चेक फिर्ता गरिदियो ।’ अहिले पुनः खाता नम्बर एकिन गरेर आउन असार २० गतेसम्मको समय दिइरहेको उनको भनाइ छ ।
अहिले वितरण संकलन भइरहेको र असार २० गतेभित्र वितरण गर्ने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार आंक्षिक क्षतिका आधारमा उपलब्ध गराउनु पर्ने राहत रकम २७ करोड ४२ लाख ९३ हजार सात सय ८७ रुपैयाँ हो ।
राहत निर्धारण समितिको कार्यविधिअनुसार आंशिक क्षतिका आधारमा उपलब्ध गराउन ३६ प्रतिशत राहत रकम कूल नौ करोड ८७ लाख ४५ हजार सात सय ६३ रुपैयाँ मात्रै रहेको उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्