बाँके बैजनाथका युवकको हत्या, हत्या आरोपमा चार पक्राउ



बाँके ।

कोहलपुर–सुर्खेत सडकखण्डको बाँके बैजनाथ गाउँपालिका–४ को एलबी चोकमा एक युवकको हत्या भएको छ । सोमबार बिहान मदिरा सेवन गरेका युवकको एक समूहले कुटपिट गर्दा मिलन भनिने दीक्षित खड्काको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा वीर अस्पताल काठमाडौंमा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । कुटपिटमा संलग्न चार युवकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरिसकेको छ ।

पक्राउ परेका चारजना युवकलाई कोहलपुर प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । बैजनाथ– ३ का सुन्दर शाही, सोही ठाउँका पूर्ण बुढामगर, खगेन्द्र थापामगर र गोविन्द विक हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

जन्मदिनको पाटीमा सहभागी भएर घर फर्किने क्रममा उनीहरुले पैदलै कोहलपुरतिर आउँदै गरेका खड्कालाई कुटपिट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

‘मदिरा खाएर घरतर्फ फर्किँदै गरेका चारैजनाले खड्कालाई सडक छेउमा कुटपिट गरेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘गम्भीर घाइते भएका खड्कालाई सडकको बीचमा राखेर चारैजना घरतर्फ लाग्छन् ।’

खड्कालाई सोमबार बिहान सवा २ बजेको समयमा प्रहरीले उद्धार गरेर उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याएको थियो । यहाँ उपचार सम्भव नभएपछि आफन्तहरुले बिहान साढे ८ बजे जहाज चार्टर गरेर वीर अस्पताल काठमाडौं लिएका थिए ।

गम्भीर घाइते खड्काको उपचारकै क्रममा दिउँसो वीर अस्पतालमा मृत्यु भएको छ । खड्काको कुटपिटबाट मृत्यु भएको अनुसन्धानबाट खुलेपछि सोमबार दिउँसो नै कोहलपुर प्रहरीले चारैजनालाई घरबाटै नियन्त्रणमा लिएको हो ।

मृतक खड्का चिसापानीमा आफू बास बसेको घरबाट पैदल नै कोहलपुरतर्फ आउँदै थिए । प्रहरी घटनास्थलबाट रगत लागेका कपडा, काठ र बाँससमेत बरामद गरेको छ ।

घटनाबारे सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी मल्लले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १४ गते मंगलबार